काठमाडौं। कास्की जिल्ला अदालतको पुर्जीपछि सहकारी ठगी प्रकरणमा कात्तिक २ मा पक्राउ परेर स्थलमार्ग हुँदै पोखरा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हिरासत म्याद आज सकिएको छ।
तर, आजदेखि सरकारी बिदा परेका कारण प्रहरीले उनलाई कात्तिक २० मात्र अदालतमा पेस गर्नेछ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीबाट काठमाडौंमा समातिएका थिए। उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले पक्राउ अनुमति दिएको हो।
कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। रविलाई अदालतले कात्तिक १४ सम्म हिरासतमा राखेर छानबिन गर्न प्रहरीलाई अनुमति दिएको थियो।
अतः रविको हिरासतम म्याद आजदेखि सकिए पनि कात्तिक २० गते मात्र सरकारी कार्यालय खुल्ने हुँदा उनको तिहार हिरासतमै बित्ने भएको हो।
रविलाई प्रहरीले कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउनेछ। त्यतिबेला मात्रै पुनः म्याद थप निर्णयबारे अदालतमा बहस हुनेछ।
यद्यपि पर्व बिदामा बन्दी प्रत्यक्षीकरणको रिट अदालतले हेर्ने हुँदा रविका वकिलले रिट दायर गर्न सक्छन्।
यसअघि गोर्खा मिडियामै जोडिएका छविलाल जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिसकेको छ।
सहकारी ठगी बयानमा के भने रविले
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेका रविको बयान लिने क्रम बुधबार पूरा भएको छ। ९ दिनसम्म हिरासतमा रहेका रविले सहकारी ठगी प्रकरणमा ४५ पेज लामो बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले रविको बयान प्रमाणित गरेका हुन्। रविले सूर्यदर्शनबाट ऋण लिएको अस्वीकार्यका छन्।
रविसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरी हिरासतमा छन्।