काठमाडौं। नेपालीहको दोस्रो चाड तिहार सुरु भएको छ। तिहारको पाँचदिन र छठपछि सार्वजनिक बिदा भएकाले यो बीचमा आन्तरिक घुमघाममा निस्कनेको संख्या बढ्दो छ।
फेष्टिभ मुडमा रहेका नेपालीहरु पछिल्लो समय आन्तरिक पर्यटकीय क्षेत्रमा घुमघाममा निस्कने प्रचलन बढेसँगै होटलहरुको बुकिङ भरिभराउ हुन थालेको व्यवसायीको भनाइ छ।
बिदा मनाउन काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा घुमघामका लागि निस्कन थालेसँगै पर्यटकीय क्षेत्र पोखरा, सौराहा, मेघौली, मुक्तिनाथ, कालिञ्चोकलगायतका होटलमा उत्साहजनक बुकिङ भइरहेको हाे।
खासगरी लक्जरियस होटल तथा रिसोर्ट अधिकाशं सोल्डआउट भइसकेकाे बताइएकाे छ। चितवनको मेघौलीमा रहेको बाराही जंगल लज कात्तिक २३ गते अर्थात नोभेम्बर ८ का लागि सोल्ड आउट भइसकेको छ। यस्तै सो क्षेत्रमा रहेका अरु होटल पनि भरिभराउ भएका छन्।
जंगल सफारी लज सौराहका सञ्चालक सुमन घिमिरेले तिहार बिदामा घुम्न आउनेको संख्या क्रमिक रुपमा बढ्न थालेको बताए। ‘लामो बिदा भएका कारण आन्तरिक पर्यटकको चाप विस्तारै बढ्न थालेको छ,’ सञ्चालक घिमिरेले भने, ‘छठसम्मका लागि होटलमा इन्क्वाइरी आइरहेको छ। बुकिङ हुने क्रम पनि बढ्दो छ।’ यस्तै विदेशी पर्यटकको पनि चाप उस्तै रहेको जनाएको छ।
पोखरामा पनि आन्तरिक एवंम बाह्य पर्यटकको चाप बढिरहेको छ। गत वर्षको तुलनामा यो वर्ष आन्तरिक एवंम बाह्य पर्यटकको संख्या केही मात्रामा कमी भएको रानीवन आकृड होटल सञ्चालक हरी भुजेलको भनाइ छ। ‘डेंगु र राजनीनिक आन्दोलनको प्रभाव यो पटक पोखराको पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा परेको छ’, सञ्चालक भुजेलले भने।
पोखराको सराङकोट, पुम्दीकोट क्षेत्रमा रहेका होटल तथा रिसोर्टमा पनि आकर्षक बुकिङ भएकाे छ। सहरको भीडभाडभन्दा बाहिर रमाउन चाहने डाँडामा रहेका होटल तथा रिसोर्टमा जाने गरेको पर्यटन व्यवसायी बताउँछन्। मुक्तिनाथ दर्शन र मुस्ताङ घुमघाममा जानेको संख्या पनि अधिक हुन थालेको छ। साेही कारण मुक्तिनाथ र जोमसोम क्षेत्रमा रहेका अधिकांश होटल भरिभराउ हुन थालेका छन्।
सडक मार्गको पहुँच भएकै कारण मुक्तिनाथमै बास बस्नेहरुको संख्या बढ्न थालेको लो मुस्ताङ हिमालयन रिसोर्टको व्यवस्थापन हेर्दै आएको स्टार एलाइन्स हस्पिटालिटीका सञ्चालक अनुप थापाले बताए। पछिल्लो समय मुस्ताङमा मुस्ताङ हिमालयन रिसोर्ट सञ्चालनमा आएपछि विदेशीको बसाइ लम्बिन थालेको उनकाे भनाइ छ।
दसैं, तिहारका बेला गैरआवासीय नेपाली पनि नेपालमा बिदा मनाउन आउने गरेका छन्। उनीहरु पारिवारिक घुमघामका लागि विभिन्न गन्तव्य पुग्ने र त्यस क्षेत्रमा रहेका लक्जरी होटलमा बस्ने भएकाले पनि यो सिजनमा धेरै होटल भरिभराउ हुन थालेको पर्यटन व्यवसायी रमेश थापा बताउँछन्।
धार्मिक स्थल कालिञ्चोकमा रहेका होटल पनि बुकिङका लागि इन्क्वारी धेरै आइरहेको कालिञ्चोक कन्ट्री भिल्लाका सञ्चालक नोर्बु लामाको भनाइ छ। कालिञ्चोक माताको दर्शनका लागि काठमाडौंसहित विभिन्न ठाउँबाट आउनेले होटल बुकिङ गरिरहेको र बिदाका बेला उत्साहजनक बुकिङ भइरहेको उनले बताए।