काठमाडौं। नेपालका अधिकांश विद्युतीय स्कुटरहरुको मूल्य साढे ३ लाख भन्दा माथि र ५ लाखको बीचमा रहेको देखिन्छ।
प्रयोगकर्ताले पनि तीन देखि पाँच लाख बीचको ईभी स्कुटर बढी मात्रामा खरिद गरिरहेको पाइन्छ। सवारी आयातकर्ताहरुले पनि यहि मूल्य रेन्जलाई हेरेर बजारमा स्कुटरहरु ल्याइरहेका छन्।
अधिकांश स्कुटरको मूल्य तीन देखि पाँच लाख मूल्यका बीचमा हुँदा ग्राहकमा भने कुन स्कुटर लिने भने निर्णय गर्न कठिन हुन्छ। बजारमा उपलब्ध थुप्रै स्कुटरमध्ये एथर ४५० एक्स र टिभिएसको आईक्युव पनि प्रयोगकर्ताका लागि उत्तम विकल्प हुन्।
नेपालको लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स हो भने एथरको नेपालको लागि आधिकारिक वितरक वैद्य इनर्जी हो।
नेपालमा एथर ४५० एक्सको स्ट्यान्डर्ड र लङ रेन्ज गरि दुई भेरियन्ट उपलब्ध छन्। एथर ४५० एक्स र आईक्युव तीन लाख भन्दा माथि र पाँच लाखसम्म मूल्यको ईभी प्रयोग गर्न चाहनेका लागि सही विकल्प मान्न सकिन्छ। यद्यपि, ग्राहकले कस्तो प्रकृतिको स्कुटर खोजेको हो भन्ने कुराले नै यसको निर्धारण हुने गर्दछ।
ग्राहकले मूल्यको साथमा सवारीसाधनको फिचर र अन्य सुविधा पनि हेर्नुपर्ने हुन्छ। नेपाली बजारमा टिभिएस आइक्युवको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। एथर ४५० एक्सको मूल्य ३ लाख ८५ हजार र ४ लाख २० हजार रुपैयाँ छ।
ब्याट्री तथा मोटर
टिभिएसको आइक्युव स्कुटरमा २.२४ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक छ। यो स्कुटरमा ४.४ किलोवाटको मोटर जडान गरिएको छ। एथरको स्ट्यान्डर्ड भेरियन्टमा २.९ किलोवाट आवर र लङ रेन्ज भेरियन्टमा ३.७ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ। यसमा ६.४ किलोवाटको मोटर जडान गरिएको छ।
रेन्ज
टिभिएसको आइक्युवमा रहेको ब्याट्रीले एक पटकको सिंगल चार्जमा १०० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। एथरको स्ट्यान्डर्ड भेरियन्टमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा १११ किलोमिटर र लङ रेन्ज भेरियन्टमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
चार्जिङ समय
टिभिएस आइक्युव फुल चार्ज हुन ५ घण्टा लाग्नेछ। यसको टप स्पिड क्षमता ७८ किलोमिटर प्रतिघण्टा रहेको छ। एथर ४५० एक्सको स्ट्यान्डर्ड भेरियन्ट शून्य देखि १०० प्रतिशत चार्ज हुन ८ घण्टा लाग्ने छ भने लङ भेरियन्ट शून्य देखि १०० प्रतिशत चार्ज हुन ५ घण्टा लाग्ने कम्पनीले जनाएको छ। यसको टप स्पिड क्षमता ९० किलोमिटर प्रतिघण्टा रहेको छ।
फिचर
एथरको ४५० एक्स स्कुटरमा डिजिटल सिस्टम छ। साथै रिभर्स गियर फिचर र हिल होल्ड असिस्ट सिस्टम पनि स्कुटरमा उपलब्ध छ। साथै यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले समेत पाउन सकिन्छ। जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन्।
टिभीएसको आइक्युव स्कुटरमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आईक्युब एप उपलब्ध रहेको छ। सो स्कुटरमा जियो फेसिङ, नेभिगेसन असिस्ट, रिमोट व्याट्री, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट÷एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड तथा रिजनरेटिभ ब्रेकिङ जस्ता इनोभेटिभ फिचर उपलब्ध छन्।