काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले दैनिक ३४३ मेगावाट बिजुली भारत निर्यात गरिरहेको जनाएको छ । हरियाणा १८३ मेगावाट, विहारमा १०० मेगावाट र टनकपुरमा ६० मेगावाट गरी ३४३ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
‘अहिले दिनमा १६ देखि १७ सय मेगावाट देशभित्रै खपत भइरहेको छ, अतिरिक्त भएको ३४३ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेका छौं,’ उनले भने । विहार र हरियाणामा मध्यकालीन सम्झौता अनुसार र टनकपुरमा भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गरिरहेको घोषले बताए ।
गत असोजमा आएको अविरल वर्षाका कारण बाढीपहिरोमा क्षति पुग्दा साढे ६ सय मेगावाट बिजुली उत्पादन ठप्प रहेको प्राधिकरणले जनाएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा कात्तिक ८ यता ३१ वटा उद्योगको बिजुली काटेको छ । यी उद्योगहरूले खपत गर्ने बिजुलीसमेत भारतलाई बिक्री गरिरहेको छ भन्ने प्रश्नमा प्राधिकरणका प्रवक्ता घोषले उद्योगहरुले ४ सय मेगावाट बिजुली खपत गरे पनि दसैंयता उद्योगबाट माग नै नरहेको बताए ।
‘दसैंयता उद्योगबाट बिजुलीको माग नै छैन, चाडपर्वका कारण उद्योगहरू बन्द नै छ,’ उनले भने, ‘उद्योगहरूमा माग छैन, तर पनि मध्यकालीन सम्झौताअनुसार हरियाणमा बिजुली पुर्याउनै मुस्किल छ ।’ अहिले आन्तरिक बिजुली खपत नै १६ देखि १७ सय मेगावाट रहेको भन्दै घोषले बिस्तारै आन्तरिक खपत बढ्दै गएको बताए ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई बिक्री गरिरहेको छ ।
एनभीभीएनले उक्त विद्युत् हरियाणा र विहार राज्यमा बिक्री गर्दै आएको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति पाएको छ । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई २३५.५ मेगावाट बिजुली बिक्री गर्दै आएको छ । यस्तै बिहार राज्यलाई मध्यकालीन सम्झौताअनुसार १२५.०४ मेगावाट बिजुली बिक्रीका लागि अनुमति पाएको छ । बाँकी प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ ।