बेइजिङ। चीनले आफ्नो देशमा उत्पादितन विद्युतीय कारमा युरोपेली संघ (इयू) को नयाँ कर अस्वीकार्य भएको बताएको छ। बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, ‘चीन यस निर्णयसँग सहमत छैन र स्वीकार गर्दैन र विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रअन्तर्गत उजुरी दर्ता गरेको छ।
चीनले चिनियाँ कम्पनीको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक उपाय लिनेछ।’ बेइजिङको राज्य अनुदानले युरोपेली अटोमेकरलाई अनुचित तरिकाले कमजोर बनाएको निष्कर्ष निकाल्दै युरोपेली सङ्घले मङ्गलबार चीनमा निर्मित विद्युतीय कारहरूमा थप कर लगाउने निर्णय गरेको थियो।
थप कर आगामी पाँच वर्षका लागि लगाइनेछ।
टेस्लाजस्ता विदेशी समूहले चीनमा निर्माण गरेका सवारी साधनमा पनि विभिन्न दरमा अतिरिक्त शुल्क लागू हुन्छ। नयाँ नीतिअनुसार चिनियाँ कार कम्पनी जिलीले १८।८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ भने एसएआईसीले सबैभन्दा बढी ३५.३ प्रतिशत कर तिर्नुपर्नेछ। चीनबाट विद्युतीय सवारी साधनको आयातमा हाल कायम रहेको १० प्रतिशतभन्दा माथि कर लाग्नेछ।
प्रवक्ताले भने, ‘चिनियाँ विद्युतीय सवारी साधनमा इयूको अनुदान विरोधी अनुसन्धानमा धेरै अनुचित र गैर–अनुपालन पक्ष रहेको चीनले बारम्बार जोड दिँदै आएको छ र यसले संरक्षणवादी अभ्यासको प्रतिनिधित्व गर्दछ। इयूले व्यापार तनावको वृद्धिबाट बच्न रचनात्मक दृष्टिकोण अपनाउनेछ र दुवै पक्षलाई स्वीकार्य समाधानमा छिटो पुग्न चीनसँग सहकार्य गर्नेछ।’
बेइजिङले चीनमा आयात हुने केही डेरी र सुँगुरको मासुजन्य पदार्थमा र्इयूले दिएको अनुदानबारे पनि अनुसन्धान सुरु गरेको छ। चीन र इयूबीचको व्यापार तनाव विद्युतीय कारमा मात्र सीमित छैन। ब्रसेल्सले सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनका लागि चिनियाँ अनुदानको पनि अनुसन्धान गरिरहेको छ।
चिनियाँ विद्युतीय कारमा भारी कर लगाउने निर्णय इयूसँगै क्यानडा र अमेरिकाले पनि गरेका छन्। क्यानडा र अमेरिकाले हालैका महिनामा चिनियाँ विद्युतीय कार आयातमा १०० प्रतिशतको उच्च कर लगाएका छन्।–एजेन्सी