काठमाडौं। हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व तिहारको रमझम सुरु भइसकेको छ। दिदीबहिनी र भाइदाइ मिलन अनि फूलको पर्वसमेत मानिने तिहार सहरबजारदेखि ग्रामीण क्षेत्रका कुनाकन्दरासम्मका बस्तीमा रमाइलो गरी मनाउने चलन छ। तिहार देउसीभैलो खेल्ने, तास, राम्रा कपडा अनि मिठा परिकार खाएर मनाउने चलन छ। तिहारमा दाजुभाइलाई दिदीबहिनीले टीका लगाइदिएर आशीर्वचन दिने र दीघार्यु जीवनको कामनासमेत गर्ने गर्छन्। तिहार पर्वमा धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआराधना गर्ने गरिन्छ।
लक्ष्मी पूजा
हिन्दु धर्मावलम्बीले धनकी देवीको प्रतीकका रुपमा वर्षभरि नै लक्ष्मीको पूजाआराधना गर्छन्। त्यसमध्ये पनि नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् हरेक वर्ष कत्तिक कृष्णपक्षमा पर्ने औंशीलाई नेपालीले विशेष रुपमा पूजाआराधना गर्छन्। औंशी हरेक महिनाको कृष्णपक्ष र पूर्णिमा हरेक महिनाको शुक्लपक्षमा पर्छ। कात्तिक कृष्णपक्षको औंशीलाई लक्ष्मी पूजाको नामले चिन्ने गरिन्छ।
धार्मिक विधिअनुसार लक्ष्मी पूजा गर्न तामाको पात्र (अम्खरा)मा कलश बनाएर रातो रुमालले कलशलाई बेर्नुपर्छ। लक्ष्मीलाई रातो रङ मन पर्ने भएकाले अरु रङभन्दा बढी रातो नै प्रयोग गर्नु उपयुक्त हुन्छ। यद्यपि पहेलो (केशरी), निर एवं अन्य र रङ पनि सिमित मात्रामा प्रयोग गर्दा आकर्षक देखिन्छ। कलश भित्र शुद्ध जल (पानी) राखेर त्यसमा काँचो बेसारको टुक्रा, सुपारी, दुवो, कमलको पूmल, अक्षता, जौ÷तिल गोमती चक्र, सिक्का पैसा, आँपको पात तथा जटासहितको नरिवल राख्नुपर्छ।
अर्को बिर्सन नहुने र महत्त्वपूर्ण भनेको लक्ष्मीको फोटो किन्दा वा लक्ष्मीलाई पूजा गर्दा गणेशसँगै हुनुपर्छ। साथै लक्ष्मी पूजा भनिए पनि उनका पति अर्थात् भगवान् विष्णुलाई पनि छुटाउनु हुँदैन। लक्ष्मीको मूर्ति÷फोटोको दाहिनेतर्फ कलश र देब्रेतर्फ दियो बाल्नुपर्छ। लक्ष्मीको मूर्ति÷फोटोलाई पश्चिमतर्फ फकाइ आफु (कर्ता) पूर्व फर्किएर पूजा गर्नु धार्मिक शास्त्रअनुसार उपयुक्त मानिन्छ। त्यसबाहेक लक्ष्मीको पूजा गर्दा बेलपत्र, लड्डु, पानसुपारी, ल्वाङ÷सुकुमेल, मौसमअनुसार ५ प्रकारका फलफूल, शृंगारका सामान तथा गरगहना र नगद पैसा राख्नुपर्छ। लक्ष्मीलाई धनकी देवी मानिने भएकाले आफूसँग भएका मूल्यवान् सम्पत्ति पूजा गरिन्छ।
तिहारमा रोटी
अनरसा
अनरसा नेपालको लगभग सबै क्षेत्रमा पकाइने चामलबाट बन्ने परिकार हो। अन्य समय आफ्नो आवश्यकताअनुसार पकाएपनि तिहारमा भने दिदीबहिनीहरुले दाजुभाइलाई सगुनस्वरुप दिने भएकाले यसलाई विशेष रुपमा लिने गरिन्छ। सुरुमा (सकेसम्म घरको लोकल) चामललाई राम्रोसँग पखालेर करिब दुई घण्टा भिजाएर पिठो बनाउनुपर्छ। अनरसाका लागि बनाउने पिठो सेलरोटीको भन्दा धेरै मसिनो बनाउनुपर्छ। अर्थात् जति धेरै मसिनो पिठो त्यति नै राम्रो अनरसा बन्छ। उक्त पिठो बराबर नै चिनी लिएर सकेसम्म पानीको प्रयोग नगरी मिठो मुछ्नुपर्छ। यदि पानीको प्रयोग गर्नुपरेमा एकदमै थोरै मात्र प्रयोग गरी पिठो केही ओसिलो भएपछि चिनी नपग्लिदै हल्का भिजेको सफा रुमालले ४÷५ घण्टा पिठोलाई भिज्न छाडिदिनुपर्छ। त्यतिबेलासम्म चिनी घुलेर पिठोलाई स–साना डल्ला बनाउन सकिन्छ। त्यसपछि अनरसा पकाउन एउटा तावा, कराइ वा आफुलाई सजिलो लाग्ने भाँडामा तेल तताउनुपर्छ।
अब नाङ्लो वा त्यस्तै फराकिलो एउटा भाँडोमा तिल राखेर त्यसमाथी भिजेको पिठोबाट स–साना गोला बनाउँदै डल्ला निकालेर राख्नुपर्छ। तिलमाथि राखेको पिठोको डल्लालाई विस्तारै हातका दुई औंलाको सहायताले हत्केलाको आकारमा फिजाउने। नभए चामललाई पिसेर तिलका दाना जस्तै बनाएर पनि प्रयोग गर्न सकिन्छ। त्यसरी तिल वा चामलको दाना प्रयोग गर्नुको अर्थ भिजेको पिठोलाई नाङ्लोबाट उठाएर हातमा लिन सकियो तथा अनरसा हेर्दा आकर्षक देखियोस् भनेर हो।
सामान्यतया हत्केला जत्रो भएपछि फिँजारिएको पिठोलाई विस्तारै उठाएर तातो तेलमा तिल लागाएको भाग माथी तिर पर्नेगरी हाल्नुपर्छ। तर, त्यसरी तताएको तेलले अनरसाको पुरै भाग डुक्नु हुँदैन। तेल थप्दै, आगो÷ग्यास पनि धेरै ठूलो नबाली विस्तारै अनरसा पकाउनु पर्छ। २÷३ मिनेट तातो तेलमा पकाएपछि लगभग अनरसा तयार हुन्छ। यद्यपि तेलमा डुबेको भागमा हल्का रातो रङ देखिएपछि अनरसा पाक्छ। तर, अनरसालाई फर्काएर पकाउनुहुँदैन।
सेलरोटी
सेलरोटी हरेक नेपालीको घरमा बनाइने चामलबाटै बन्ने परिकार हो। सेलरोटी बनाउन भने अन्य परिकारभन्दा केही सजिलो छ। सेल बनाउन चामलको पिठो, घिउ, चिनी, सोडा वा बेकिङ पाउडर, ल्वाङ÷सुकुमेलको धुलो, सुजि÷फापरको पिठो, तेल र पानीको आवश्यकता पर्छ। चामलको पिठो, तेल, पानी र चिनीबाहेक अन्य सबै वस्तुलाई दाउन (सेल राम्रो बनाउने तत्व)का रुपमा प्रयोग गरिन्छ। यसले गर्दा दाउन नभई सेल बनाउन नसकिने होइन तर, राम्रो एवं स्वादिलो सेल बनाउन दाउनको भूमिका महत्त्वपूर्ण हुन्छ।
सुरुमा चामललाई करिब दुई घण्टा भिजाएर पानी तारेर पिठो बनाउनुपर्छ। उक्त पिठोमा माथी भनिएका सबै चीजको धुलो थोरै–थोरै मिसाउनुपर्छ। यद्यपि सुजी वा फापरमध्ये एकको पिठो अलि बढी राख्नुपर्छ भने अन्य सबै वस्तु स्वादअनुसार राख्न आवश्यक छ। सबै वस्तुलाई मिसाएर पानीले भिजाउँदै जानुपर्छ तर, त्यसरी भिजाउँदा पिठोका स–साना ठल्ला बन्न दिनुहुँदैन। राम्रोसँग माडेर मुछ्नुपर्छ।
सामान्यतया हातले पिठो उठाउन सक्ने गरी गिलो बनाउनु पर्छ। सेल रोटीका लागि अनरसाको जस्तो सारो पिठो र चिनी धेरै चाहिँदैन। मुछेको पिठोलाई पनि समय भएमा सकेसम्म एक घण्टा बढी छोपेर राखेपछि मात्रै पकाउँदा राम्रो हुन्छ। यद्यपि समय नभएमा भिजाएलगत्तै पनि पकाउन मिल्छ।
सेल पकाउने तावा (प्यान), फराकिलो कराइमा सानो कचौरा वा बत्ति बाल्ने दियो राँन सकिन्छ। यसरी तेलको भाँडाको बीचमा अग्लो हुने वस्तु राख्नुको अर्थ पिठो हाल्दा नजोडियोस् भनेर हो। तेल राम्रोसँग तातेपछि दियो वा तावाको बीचमा उठेको भागको वरिपरी पर्ने गरी मुछेको पिठोलाई घुमाउनुपर्छ। यसरी पिठो घुमाउँदा हातमै लिएर, बोतल काटेर त्यसमा पिठो राखेर, कचौरा तथा तरकारी चलाउने डाडुमा पिठो राखेर पनि पकाउन सकिन्छ।
बजारमा सेल बनाउन पाइने अन्य भाँडाबाट पनि बनाउन सकिन्छ। सेल पकाउन अर्को महत्त्वपूर्ण पक्ष भनेको आगो÷ग्यास धेरै हुनुपर्छ। सेललाई एकातर्फ केही रातो रङ भएपछि सिन्का वा डाडु÷पन्यूको सहयताले फर्काउनुपर्छ। सेल पनि २÷३ मिनेट पकएपछि तयार हुन्छ।
रसबरी
छिटोमिटो, स्वस्थकर मिठाईका रुपमा लिइने र घरमै बनाउन सकिने अर्को परिकार हो रसबरी। रसबरी बनाउन गाई वा भैंसीको दूध, चिनी, मैदा चाहिन्छ। सुरुमा दूधलाई तताएर त्यसमा कागती वा भिनेगर हाल्नुपर्छ। अमिलोले दूधलाई फटाउन (पानीबाट दुग्ध पदार्थ छुट्याउनु) मद्दत गर्छ। फाटेको दूधलाई सफा कपडा वा जालीले छान्नुपर्छ। दूध फाटेर निस्किएको छोक्रालाई छिना भनिन्छ। बाँकी रहेको पानीलाई अन्य प्रयोगमा ल्याउन वा फाल्दा हुन्छ।
उक्त छिनामा थोरै मैदा मिसाई मुछेर स–साना गोला बनाउनु पर्छ। अर्को भाँडामा चिनी पानी पकाएर चास्नी तयार गर्नुपर्छ। चास्नीमा पहिला बनाएका स–साना डल्लालाई हालेर केही मिनेट पकापछि रसबरी तयार हुन्छ।
जेरी
जेरी पनि नेपाली समुदायमा सर्वाधिक रुचाएको मिठाइभित्र पर्छ। जेरीका लागि मैदा, चिनी, दही, घिउ, बेकिङ पाउडर र पानीको आवश्यकता पर्छ। पानीबाहेक आवश्यकताअनुसार यी सबै चिज राखेर मुछ्नुपर्छ। तर, त्यसरी मुछिएको पिटो धेरै सारो वा गिलो हुनुहुँदैन। उक्त पिठोलाई खुण्ला ठाउँमा ८/१० घन्टा राम्रोसँग भिज्नल छाडिदिनुपर्छ। त्यो बीचमा अन्य कामसँगै चिनी पानी पकाएर चास्नी तयार गर्न सकिन्छ।
एउटा भाँडामा तेल तताउनुपर्छ। भिजेको पिठोलाई सानो प्वाल भएको कुनै भाँडामा हालेर आफुलाई मन परेको आकारमा घुमाउँदै तातो तेलमा हालेर ३/४ मिनेट पकाउनुपर्छ। त्यसपछि पहिला तयार गरेर राखेको चास्नीमा डुबाएपछि खानका लागि जेरी तयार हुन्छ।