काठमाडौं। तिहार बिदा अघिको अन्तिम कारोबार दिन बुुधबार सेयर बजार १४.४३ अंकले घटेर बन्द भएको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४३ अंक अर्थात ०.५३ प्रतिशतले घटेर २६७७.६२ बिन्दुमा रोकिएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा रोकिएको थियो। अब अन्य बिदा नभएमा सेयर बजार पाँच दिनपछि अर्थात् कात्तिक २० गते मंगलबार खुल्नेछ।
बुधबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार मंगलबार भने नेप्सेमा कुल ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएका मध्ये ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ५ कम्पनीको सेयर मुल्य भने स्थिर छ।
बुधबार गुँरास लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा अपर स्यांगी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत, सानिमा जीआइसी इन्स्योरेन्सको ९.९२ प्रतिशतले बढेको छ।
बुधबार जानकी फाइनान्स कम्पनीको सेयर मूल्य ४.९० प्रतिशत, जीवन बिमा कर्पोरेट कम्पनी ४.८० प्रतिशत, माथिल्लो मैलुन खोला जलविद्युत कम्पनी ४.५५ प्रतिशत र माईखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य ०.७२ प्रतिशत, विकास बैंक समूह ०.४३ प्रतिशत, फाइनान्स समूह १.०१ प्रतिहत, हाइड्रोपावर समूह ०.३३ प्रतिशत, लगानी समूह १.४१ प्रतिशत, जीवन बिमा समूह ०.९८ प्रतिशत, उत्पादन समूह ०.९६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१४ प्रतिशत, म्युचअल फण्ड समूह ०.७२ प्रतिशत र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ।
बुधबार होटल तथा पर्यटन समूहको सेयर मूल्य २.५२ प्रतिशत, निर्जीवन बिमा समूह ०.४९ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले बढेको छ।