काठमाडाैं। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछाने छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले क्षमता र पहुँचले भ्याएसम्मको प्रयास गर्दै आएका छन्।
संसदीय विशेष छानविन समितिले नै कारबाहीका लागि सिफारिस गरेपछि लामिछानेलाई कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट गरेर पोखरा पुर्याइएको थियो।
सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा सरकारले पक्राउ गरेको भन्दै सुरुदेखि नै रास्वपा नेता–कार्यकर्ताले आक्रोश पोख्दै आएका छन्। तर सडक आन्दोनबाट मात्र पार नलाग्ने देखेर रास्वपाले पछिल्लो समय सभापति लामिछाने बचाउनकै लागि सरकारसँग ‘लबिङ’को प्रयास गरेको आरोप छ।
लामिछाने पक्राउ परेकै साँझ पार्टी मुख्यालय पुगेर नेता–कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। भोलिपल्ट (कार्तिक ३ गते)देखि रास्वपा सडककेन्द्रित आन्दोलनमा उत्रियो। कार्तिक ३ गते रास्वपाले पोखरासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गर्यो। ४ गतेदेखि रास्वपाले थप दबाब बढाउनेगरी पोखराकेन्द्रित प्रदर्शन गर्यो।
तर, पोखरामा सहकारी पीडितहरू उल्टै प्रदर्शनमा उत्रिनुका साथै स्थानीयको समर्थन नमिलेपछि कार्तिक १० देखि रास्वपाले आन्दोलनलाई काठमाडौंमा केन्द्रित गर्यो। विरोधका क्रममा उनीहरूले सरकारविरोधी नाराबाजी मात्र गरेनन्, प्रधानमन्त्री केपी ओलीको शवयात्रासमेत गरे।
पोखराबाट काठमाडौं केन्द्रित बनेको रास्वपाको सडक क्रमशः कमजोर बन्दै गएका बेला रास्वपा नेताहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भेट गरेका छन्, जसलाई सभापति बचाउने रास्वपाको अर्को प्रयासका रुपमा अर्थ्याइएको छ।
सोमबार (कार्तिक १२ गते) राति रास्वपा उपसभापति डिपी (डोलप्रसाद) अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए। उक्त भेटमा रास्वपाका नेताद्वयले प्रधानमन्त्रीसँग सभापति लामिछानेको मुद्दा फिर्ता लिने वातावरण बनाइदिन आग्रह गरेको एमाले नेताहरूको दाबी छ।
एमाले नेता विष्णु रिजाल रास्वपा नेताहरूले हारगुहार गरे पनि मुद्दा फिर्ता असम्भव रहेको बताउँछन्। दिनभरी सडकबाट प्रधानमन्त्रीलाई गालीगलौज गर्दै अस्वाभाविक व्यवहार प्रदर्शन गर्ने अनि कुन मुख लिएर हारगुहार गर्न बालुवाटार छिरेका होलान् भन्ने टिप्पणी गरेका छन्।
नेता रिजालले भनेका छन्, ‘दिनभरी प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?’, उनले भनेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ। जे गर्छ, कानुनले गर्छ। डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’
प्रधानमन्त्री भेट्नुअघि अर्याल गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए। रास्वपा नेताहरू परराष्ट्रमन्त्री आरजु राणासँगसमेत भेटका लागि प्रयास गरेको बताइएको छ। यी भेटवार्ता सभापति लामिछाने छुटाउने बचाउनकै लागि भएको धेरैको आशंका छ।
रास्वपाको आन्दोलन स्थगित
यहीबीच बुधबारदेखि रास्वपाले सडक आन्दोनसमेत स्थागित गर्दा उक्त आशंकामा थप बल पुगेको छ। मंगलबार बालुवाटार घेर्न पुगेको रास्वपाको सडक आन्दोलन अब छठसम्मका लागि स्थागित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनले भने, ‘आजदेखि स्थागित गरेका छौं। अब छठपछि यसलाई निरन्तरता दिन्छौँ।’
यद्यपि प्रमुख सचेतक सन्तोष परियारले चाडपर्व र अनुसन्धानमा सहयोग गर्न सडक आन्दोलन स्थगित गरिएको बताए। ‘तिहारपछि भन्ने छ, भएन भने छठपछि हुन्छ। चाडपर्व पनि भयो । अर्को चाहिँ अहिले अनुसन्धान भइरहेको छ, त्यसलाई पनि पनि त नकार्न भएन।’
रास्वपा नेताहरूले भने प्रधानमन्त्री र मन्त्रीसँगको भेट सभापति लामिछानेको विषयमा केन्द्रित नै नरहेको दाबी गर्छन्। उपसभापति अर्यालसँग प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका प्रमुख सचेतक अर्यालले आफूहरू बालुवाटरमा शान्तिपूर्ण प्रदर्शन गर्नेबारे जानकारी दिन मात्र पुगेको बताए।
‘हामी खास बालुवाटारमा आन्लोन गर्नेबारे जानकारी दिन त्यहाँ गएका हौँ। आन्दोलनको बारेमा अलि अफवाहरू थियो। बालुवाटार घेर्छन्, यो गर्छन्, त्यो गर्छन् भनेर। त्यसबारे शान्तिपूर्ण आन्दोलन गर्न लागेका हौं भनेर जानकारी दिन मात्र गएका हौं’, उनले भने, ‘अरू केही कुरा भएको छैन।’
सभापति बचाउन अनुनयविनय गरे भन्ने चर्चा कपोलकल्पित भएको जिकिर परियारको छ। आफूहरूले राजनीतिक प्रतिशोध नसाँधियोस् भनेर भनेको र प्रधानमन्त्री ओलीले पनि त्यस्तो नहुने जवाफ दिएको उनले सुनाए।
तीनजना बसेर कुरा गरेका हौँ : परियार
‘हामीले प्रधानमन्त्रीलाई राजनीतिक प्रतिशोध नसाँधियोस्, विधिवत कानुनसम्मत हुने कुरामा हामीले प्रभाव पार्दैनौँ। अदालती प्रक्रियामा गइसकेपछि हामी सम्मान गर्छौं। तर अहिले जो व्यवहार देखिएको छ, त्यो चाहिँ राजनीतिक प्रतिशोध साँधिएको हो कि भनेर हामीले भन्यौँ।
जवाफमा उहाँले पनि त्यस्तो हुँदैन/गरिँदैन कानुनअनुसार हुन्छ, विषेशगरी मैले कुनै व्यक्तिविशेषलाई प्रतिशोध साँध्ने भन्ने कुरा हुँदैन भन्नुभयो’, प्रमुख सचेतक परियारले भने, ‘बसेको प्रधानमन्त्री ओली, उपसभापति अर्याल र म हो। हामी तीनजना बसेर कुरा गरेको हो। बाँकी कोही छैन भने बाहिर आएका सबै कुरा कपोल्कल्पित कुरा हुन्।’