काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सामाजिक संस्था एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित बागमती नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सहयोग उपलब्ध गराइएको फाउन्डेसनले बताएको हो।
गत असोज ११–१२ को अविरल वर्षापछि आएको बाढीले बल्खु क्षेत्र डुबानमा परेको थियो। उक्त क्षेत्रका विद्यार्थीले किताब, कापीलगायत आफ्ना शैक्षिक सामग्री गुमाएकाले उक्त सहयोग गरिएको एनसेलले जनाएको छ।
सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ। फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारलाई राहत वितरण गरेको छ।
फाउन्डेसनले रोशी गाउँपालिका–७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ। यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका–४ का ५० परिवारलाई पनि फाउन्डेसनले राहत वितरण गरेको छ।
यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा–४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो। यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढि घरपरिवारलाई राहत सामाग्री वितरण गरिसकेको छ।
‘“विगतमा पनि बाढी, पहिरो, भुइँचालो, कोभिडजस्ता विपद्मा प्रतिकार्यस्वरुप यथासक्य सहयोग र साथ दिएका छौं’, एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, ‘यस्तो संकटको समय समुदायलाई साथ दिनु हाम्रो कर्तव्य पनि हो।’
वितरित राहतमा खाद्यान्न, हाइजिन किट, ब्याल्ङ्केटलगायत सामान रहेका थिए।
फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीसहित प्रभावित वडा पुगेर पीडित परिवारका उपस्थित सदस्यलाई राहत सामग्री वितरण गरेको हो। एनसेलले सीएसआर परियोजना सञ्चालन गर्न १९औं वार्षिकोत्सव अवसरमा गत महिना एनसेल फाउन्डेसन घोषणा गरेको थियो।