काठमाडौं। भूमि फाउन्डेसनले एनसेल फाउन्डेसनको सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक–संगीत, संस्कृति संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरेको भूमि लोक उत्सव सम्पन्न भएको छ।
शनिबार सम्पन्न महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथि एवं हजारौं जनकपुरबासीको सहभागिता थियो।
मधेस प्रदेशबाट झन्डै लोप हुन लागेका लोक संगीत तथा बाजाको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीतसमेत समेटिएको थियो।
भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो। व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत नेपाली कला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो।
कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुति समेटिएका थिए। यो महोत्सवले दर्शकसँग कसिलो साइनो गाँस्न मात्रै सफल भएन, बरु उनीहरुले गहिरो अपनत्व पनि महसुस गरे।
राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार सुशान्त घिमिरे र राग, झुमा लिम्बू, फ्याटकाउली, आशीष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुत गरेको कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए।
दशैंका बेला मिथिला–मधेश क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीले निकै मनमोहक प्रस्तुति गरेका थिए। हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममा आफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याती कमाएका स्थानीय युवा ¥यापर सन्तोष झाका मैथिली ¥यापले युवा पुस्तामाझ थप ऊर्जा तथा उत्साह बढाएको भूमि लोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले जानकारी दिइन्।
भूमि फाउन्डेसनका अध्यक्ष रश्मिरञ्जन झाले जनकपुर सहरले यस कार्यक्रमप्रति देखाएको आत्मीयता, स्वामित्वभाव र सहयोगले आउँदा वर्षमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रम आयोजना गर्ने हौसला बढाएको बताए।
भूमि महोत्सवलाई एनसेल फाउन्डेसनका साथै, मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, बीपी कोईराला भारत–नेपाल फाउन्डेशन भारतीय दूतावास, स्विस विकास तथा सहयोग संस्था, स्विस दूतावास, माया आर्ट फाउण्डेशन, जनकपुर नगरपालिका, युनेस्को काठमाडौं, सामाजिक फिड, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, सांग्रिला प्रकाशन तथा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पनि सहयोग तथा सहायता उपलब्ध गराएका थिए।
त्यस्तै फोटो सर्कल, सूर्य नेपाल, मिथिला कल्चरल भिलेज, शेफ सन्तोष साहको मिथिला थाली, रेडमड कफी जनकपुर, जनकपुर कम्युनिटी कलेज, मसला कटेज रेस्टुरेन्ट एन्ड लाउन्ज, मिथिला सिरीज, डिजाइन हाउस अल मिडिया सोलुसन, अप्पन टेलिभिजन, कलर्स एफएम जनकपुर, जनकनन्दनी एफएम ९५.५, मिथिलाञ्चल एफएम, एरे इन्टरनेसनल स्कूल, माला कलर प्रिन्टिङ प्रेस, तथा भरत ग्राफिक डिजाइनले पनि सहयोग तथा सहायता उपलब्ध गराएका थिए।
तस्बिरः एनसेल