काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा १२ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी बढेको छ । बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई, नबिल, प्राइम कमर्शियल, एनएमबि र प्रभु बैंकको प्रतिशेयर आम्दानी बढेको छ । यसैगरी, ग्लोबल आइएमई, कुमारी, नेपाल बैंक, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले पनि प्रतिशेयर आम्दानी बढाएका छन् ।
यो अवधिमा ८ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको छ, जसमा माछापुच्छ्रे, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन, सानिमा, सिटजन बैंक इन्टरनेशनल, राष्ट्रिय वाणिज्य, कृषि विकास र एनआईसी एशिया बैंक छन् ।
२० वाणिज्य बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी ३६ रुपैयाँ ५७ पैसा छ । गत त्रैमासमा सर्वाधिक प्रतिशेयर आम्दानी हुने बैंकको सूचीमा एभरेष्ट बैंक दोस्रो स्थानमा छ । बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८५ पैसा छ । त्यसैगरी, नेपाल एसबिआई बैंकको ३१ रुपैयाँ ०३ पैसा र नबिल बैंकको २९ रुपैयाँ ८३ पैसा छ । एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी भने सबैभन्दा कम २ रुपैयाँ ९१ पैसा रहेको छ ।
प्रतिसेयर आम्दानी बढाउनेमा सबैभन्दा अघि सिद्धार्थ बैक छ। गत आर्थिक वर्षकाे पहिलाे त्रैमासमा १.१९ प्रतिसत रहेकाेमा चालू आवकाे पहिलाे त्रैमासमा १०.६४ प्रतिसत पुगेकाे छ। याे भनेकाे ७९४ प्रतिशत बढी हाे। त्यसैगरी, लक्ष्मी सनराइज बैंककाे १.९ बाट ९.२५ प्रतिशत पुगेकाे छ। याे भनेकाे ३८६ प्रतिशत बढी हाे। त्यसैगरी कुमार बैंककाे ४.०३ बाट १६.४४ प्रतिशत पुगेकाे छ। याे भनेकाे ३०७ प्रतिसत हाे।
प्रतिशेयर आम्दानी शेयर मूल्य मापन गर्ने एक महत्त्वपूर्ण सूचक हो । शेयर बजारमा लगानी गर्नुपूर्व यसको अध्ययन गर्न आवश्यक हुन्छ ।
कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महीनासम्म उपयुक्त हुन्छ ।
प्रतिशेयर आम्दानी बढी हुनु राम्रो मानिन्छ भने कम हुनु कमसल मानिन्छ । प्रतिशेयर आम्दानी दर वृद्धि भइरहेको कम्पनीमा लगानी गर्नु उपयुक्त हुने शेयर बजारसम्बन्धी जानकार बताउँछन् । यसले कम्पनीको कमाइ राम्रो भइरहेको र लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था रहेको संकेत गर्छ ।