काठमाडौं। नेपालमा दुई पांग्रे विद्युतीय सवारीसाधन आउन सुरु भएको करिब एक दशक भइसकेको छ। खासगरी, शहरी र समथर भुभाग भएका ठाउँमा दुई पांग्रे ईभीको प्रयोग बढ्दो छ।
बाहिरी मुलुकबाट नेपालमा आयात हुने गरेका दुई पांग्रे ईभीको तथ्यांक हेर्ने हो भने पनि नेपालमा ईभीको राम्रै बजार तयार भइसकेको छ। सरकारले नै ईभी सवारीसाधनलाई प्रोत्साहन गरेकाले ईभीप्रतिको चासो दिनप्रतिदिन बढ्दो छ।
ईभीप्रति नागरिकको चासो बढी रहेको समयमा यसको सेकेन्ड ह्याण्ड (दोस्रो) बजारतर्फ पनि मानिसको चासो बढ्नु स्वभाविक हो। यद्यपि, आयात सुरु भएको एक दशक भन्दा बढी समयमा पनि नेपालमा दुई पांग्रे ईभी सेकेन्ड ह्याण्ड सवारीसाधनको दोस्रो बजार तयार हुन सकेको छैन।
इन्धन सवारीसाधनतर्फ हेर्ने हो भने चार पांग्रे होस् या दुई पांग्रे नेपालमा यी दुबैको दोस्रो बजार एकदमै ठूलो छ। शहरका अधिकांश चोकचोकमा रहेका रिकन्डिसन हाउस र त्यहाँ राखिएका सवारीसाधनको संख्याले पनि इन्धनको दोस्रो बजार व्यापाक भएको पुष्टि गर्दछ।
ईभीको बजार निरन्तर उकालो लागि रहेको समयमा यसको सेकेन्ड ह्याण्ड बजार भने सो गतिमा अगाडि बढ्न सकेको छैन। शहरमा सञ्चालित सयौं संख्याका रिकन्डिसनमध्येमा केहीमा मात्रै ईभी स्कुटर राखिएको देख्न सकिन्छ। सवारीसाधन प्रयोग गर्ने इच्छा भएका तर, आम्दानी कम भएका व्यक्तिहरुका लागि सेकेन्ड ह्याण्ड बजार उचित मानिन्छ।
कम आम्दानीमा खरिद गर्न सकिने र आफूलाई मन परेको मोडेलको बाइक खरिद गर्नेहरुले पनि सेकेन्ड ह्यान्ड बजारबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने गर्दछन्।
हुनतः चार पांग्रे ईभीमा जस्तो ग्राहकको आकर्षण दुई पांग्रे ईभीमा छैन। यहि कारण पनि रिकन्डिसन हाउसमा ईभी बाइक तथा स्कुटर भेट्याउन कठिन भएको हो। बिर्तामोड रिकन्डिसन हाउसका सञ्चालक आकाश पौडेल ईभीको दोस्रो बजार तयार भइ नसकेको बताउँछन्। ‘सेकेन्ड ह्याण्ड ईभी बाइक तथा स्कुटर खोज्ने ग्राहक नै आउँदैनन्।
बजारमा सेकेन्ड ह्याण्ड ईभी आएको नै छैन त्यही भएर हामीले राखेका छनौं,’ पौडेल भन्छन्, ‘बाइक तथा स्कुटरको मोडल, कन्डिसन, त्यसको ब्याट्री र मोटर हेरेर मूल्यांकन गर्नुपर्ने हुन्छ त्यसले गर्दा पनि सेकेन्ड ह्यान्ड ईभी रिकन्डिसन हाउसबाट बेच्न नै कठिन छ।’
नयाँ ईभी बाइक तथा स्कुटर नै ग्राहकको रोजाइमा पर्न नसकेकाले सेकेन्ड ह्याण्ड बजारमा ईभी बाइक तथा स्कुटर नआएको सेकेन्ड ह्याण्ड बाइक तथा स्कुटर बिक्री गर्ने गरिमा रिकन्डिसन हाउसका सञ्चालक डिके भट्ट बताउँछन्।
‘नयाँ ईभी बाइक तथा स्कुटरको बजार नै छैन। आयात नै कम भएपछि रिकन्डिसन हाउसमा पनि कम आउँछन्। कतै भेटिए पनि हामीले राख्दैनौं,’ भट्टले भने, ‘कुनै पनि रिकन्डिसन हाउसमा ईभी हतपत पाईंदैन। नयाँमा नै बिक्री कम भएपछि सेकेन्ड ह्यान्डमा हुने कुरै भएन।’
ईभी सेकेन्ड ह्यान्ड बाइक तथा स्कुटर बिक्री नहुने डरले रिकन्डिसन हाउसमा ईभी राखेको पाईंदैन। ईभी खोज्न आउनेलाई पनि नयाँ ईभी बेच्ने डिलरसँग कुरा गराइदिने गरेको चन्द्रागिरी रिकन्डिसन हाउसका सञ्चालक विकास श्रेष्ठ बताउँछन्।
‘दुई पांग्रे सवारीसाधन लामो यात्राका लागि बढी प्रयोग हुने भएकाले ईभीमा ग्राहकको आकर्षण छैन,’ श्रेष्ठ भन्छन्, ‘व्यापारी भएपछि ग्राहकको रुचि अनुसारको सामान राख्नुपर्ने हुन्छ। ग्राहकको रुचि इन्धन बाइक तथा स्कुटरमा छ। त्यसैले हामीले ईभी राखेका छैनौं।,’
दुई पांग्रे सवारीसाधनको सेकेन्ड ह्याण्ड सवारीसाधन बिक्री गर्दै आएको ब्रदर्स रिकन्डिसन हाउसका मनिस न्यौपानेका इन्धन र ईभी दुवैको बाइक तथा स्कुटर बेच्न राखे पनि इन्धन बाइक तथा स्कुटरको मात्र व्यापार भएको बताउँछन्।
‘इन्धन सेकेन्ड ह्याण्ड बाइक तथा स्कुटरको धेरै मोडलहरु उपलब्ध छ र किनेबेच पनि भइरहेको छ,’ न्यौपाने भन्छन्, ‘तर, ईभीको ३ वटा मात्र मोडलहरु छन्। त्यो पनि बिक्री नभएर स्टकमा बसिरहेको छ। नयाँ ईभीले बजार लिन नसकेकाले सेकेन्ड ह्याण्ड बजारमा पनि कम आउँछ।’
यसका अलावा, अहिले कुनै पनि सवारीधनीले आफ्नो सवारी बिक्री गर्नु परेमा अनलाइन प्लेटफर्ममा राखेर सिधै खरिदकर्तासँगै डिल गरी बिक्री गरेको पनि पाइन्छ। सवारीसाधन खरिद बिक्रीका लागि बनाइएका विभिन्न फेसबुक ग्रुप, पेज तथा वेबसाइटहरुबाट सवारीधनिले आफ्नो सवारीको तस्बिर, मूल्य लगायतको जानकारी राखेर सिधै बिक्री गर्न सक्दछ। यसरी खरिद गर्न चाहने र बिक्री गर्न चाहनेबीच सिधै सम्पर्क हुँदा पनि सवारीसाधन रिकन्डिसन हाउहरुसम्म नपुग्ने गरेका छन्।
हाल नेपालमा केही मात्रामा खरिदबिक्री भइरहेका दुई पांग्रे सेकन्ड ह्यान्ड ईभी पनि यहि कारण रिकन्डिसनसम्म पुग्न सकेका छैनन्। ईभीमा मात्रै नभएर इन्धन सवारीसाधनमा पनि सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा सवारी राखेर बिक्री गर्न चाहने र खरिद गर्न चाहने दुबैको डिलमा सवारीसाधन खरिदबिक्री भइरहेका छन्।
यस्तो कारोबारले रिकन्डिसले बीचमा लिने कमिसन पनि बच्ने भएकाले अनलाइन प्लेटफर्मबाटै जोडिएर सवारी खरिदबिक्री गर्ने संख्या पनि उल्लेख्य छ।