काठमाडौं। बैंकहरुको आधार दर क्रमशः घट्दो क्रममा रहेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि घटेको छ । १ वर्षको अवधिलाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) २.६२ प्रतिशत बिन्दुले घटिसकेको छ । २०८१ असोज मसान्तसम्ममा बैंकहरुको औसत आधार दर ७.३४ प्रतिशत कायम भएको छ ।
२०८० असोज मसान्तसम्ममा २० वाणिज्य बैंकहरुको औसत अधार दर ९.९७ प्रतिशत थियो । यसले कर्जामा ब्याजदर उल्लेख्य घट्दै गएको देखाउँछ । पहिल्लो २ वर्षयता अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जामा माग समेत घटेको छ । नेपालमा वार्षिक औसत करिब २० प्रतिशतले कर्जा विस्तार हुने गरेकोमा पछिल्लो २ वर्षको कर्जा विस्तार करिब ६ प्रतिशतमा मात्रै छ ।
निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार न्यून हुँदा ब्याजदर लगातार घटेको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै आधार ब्याजदर निरन्तर घटेको हो । ब्याजदर बेस रेटसँग प्रत्यक्ष सम्बन्धित हुने गर्छ । किनभने बैंकहरुले बेस रेटमा निश्चित प्रतिशत प्रिमियम थपेर ब्याजदर तय गर्छन् । बेस रेट सस्तो भएमात्र कर्जाको ब्याजदर पनि सस्तो हुन जान्छ । अनि, मात्र ऋणीले राहत पाउन सक्छन् ।
तथापि, आधार दरमा प्रिमियम जोखिमको आधार निर्धारण हुनुपर्ने भए पनि नेपालमा भने पहुँचका आधारमा प्रिमियम निर्धारण हुँदै आएको छ । सोही कारण राष्ट्र बैंकले साना ऋणी र केही उत्पादन क्षेत्रका ऋणी ग्राहकको ‘प्रोटेक्सन’ का लागि भन्दै आधार दरमा २ प्रतिशत प्रिमियम मात्रै लिन पाइने व्यवस्था गरेको छ ।
कुन बैंकमा पाइन्छ सबैभन्दा सस्तो ऋण ?
बैंकहरुले प्रकाशित गरेको असोजको आधार दर हेर्दा सबैभन्दा सस्तो कर्जा स्टान्डर्ड चार्टर्ड बैंकमा पाइन्छ । असोजमा यस बैंकको आधार दर ५.७१ प्रतिशत छ । यसमा ४ प्रतिशतसम्म प्रिमियम थप भए पनि एकल अंकमा नै ब्याजदर कायम हुन्छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०५ प्रतिशत, नेपाल बैंकको ६.७२ प्रतिशत र एभरेष्ट बैंकको ६.८० प्रतिशत छ ।
त्यस्तै, एनआइसी एसिया बैंकको आधार दर सबैभन्दा धेरै ८.३७ प्रतिशत छ । हिमालयन बैंकको आधार दर ८.३५ प्रतिशत छ । यी २ बैंक बाहेक अरुको आधार दर ८ प्रतिशतभन्दा कम छ । १ वर्षको अवधिमा सबै बैंकको आधार दर घटेको छ ।