काठमाडौं। ६ महिना अघि अर्थात् २०८१ वैशाख १० मा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९६९.०२ बिन्दुमा थियो। नेप्से उक्त बिन्दुमा हुँदा वाणिज्य बैंकतर्फको सूचक १०२७ बिन्दुमा थियो भने फाइनान्स सूचक १९४३ बिन्दुमा थियो। तर, कात्तिक १३ गतेसम्म आइपुग्दा नेप्से ७२३ अंकले बढेर २६९२.०५ बिन्दुमा कायम छ।
यसबीचमा बैंकिङ सूचक ५०६ अंकले बढेर १५३३ बिन्दुमा पुग्दा फाइनान्स सूचक १५५५ अंकले बढेर ३४९८ बिन्दुमा पुगेको छ। हुनतः पछिल्लो पटक साउन ३१ गते नेप्से ३०००.८१ बिन्दुसम्म पुगेको थियो। तर, साउन ३१ पछि ओरालो लागेको नेप्से कात्तिक १३ गतेसम्म आइपुग्दा २६९२ बिन्दुमा छ।
वैशाख १० देखि कात्तिक १३ गतेसम्मको ६ महिनाको अवधिलाई तुलना गर्दा नेप्से ७२३ अंकले बढेको देखिन्छ। यो छ महिनाको अवधिमा बैंकिङ सूचक ५०६ अंकले मात्रै बढ्दा फाइनान्स सूचकमा भने १५५५ अंकको वृद्धि देखियो। अर्थात्, यस अवधिमा फाइनान्स सूचक बैंकिङ सूचकको तुलनामा १०४९ अंकले बढी उकालो लागेको देखिन्छ।
खासगरी, बैंकिङ समूहलाई नेप्सेकै सबैभन्दा बढी धेरै हिस्सा ओगटेको क्षेत्र भनिन्छ। बैंकिङ सूचकमा आएको परिवर्तनले समग्र सूचक र बजारलाई नै प्रभावित पार्ने कुरा पनि हामीले गर्दै आएका छौं। बजारमा यस्तो किसिमको प्रवृत्ति हामीले लामो समयदेखि देख्दै आएका हौं। तर, पछिल्लो समय भने सेयर बजारमा फाइनान्स समूहको प्रभाव बढी मात्रामा देखिरहेको छ।
यसो, त पछिल्लो ६ महिनामा फाइनान्स र बैंकिङ सूचकमा देखिएको फेरबदलले नै समग्र सेयर बजारमा फाइनान्स समूहको प्रभाव बढी मात्रामा रहेको पुष्टि भइसकेको छ।
वैशाख १० मा १९ वाणिज्य बैंकमध्ये सबैभन्दा कम मूल्य रहेको कुमारी बैंकको सेयर मूल्य १३२ रुपैयाँ थियो भने बैंकिङ समूहमा सबैभन्दा बढी मूल्य भएको स्ट्यान्डर्ड चार्टड बैंकको सेयर मूल्य ५१८ रुपैयाँ थियो।
कात्तिक १३ गतेसम्म आईपुग्दा भने बैंकिङ समूहमा सबैभन्दा कम मूल्य रहेको कुमारी बैंकको सेयर मूल्य २३४ रुपैयाँ छ भने सबैभन्दा बढी मूल्य भएको स्ट्यान्डर्ड चार्टड बैंकको ६९९ रुपैयाँ छ।
वैशाखमा अधिकांश बैंकको सेयर मूल्य २०० मुनि रहेकोमा हाल भने २०० भन्दा माथि र ३०० भन्दा मुनि छ। कम्पनीगत तथ्यांक हेर्दा पनि बैंकहरुको सेयर मूल्यमा खासै ठूलो परिर्वतन देखिँदैन।
२०८१ वैशाख १० र २०८१ कात्तिक १३ गतको बैंकहरुको सेयरमूल्य
गएको वैशाख १० मा फाइनान्स समूहमा समृद्धि फाइनान्सको सेयर मूल्य सबैभन्दा कम अर्थात् ३१२ रुपैयाँ थियो भने गोर्खाज फाइनान्सको सेयर मूल्य फाइनान्स समूहकै सबैभन्दा बढी ७५५ रुपैयाँ थियो।
उक्त समयमा फाइनान्स कम्पनीको सेयर मूल्य ३०० भन्दा तल कुनैको थिएन भने अधिकांश कम्पनीको मूल्य ३०० देखि ५०० रुपैयाँको बीचमा थियो। हाल भने फाइनान्स समूहमा सबैभन्दा कम मूल्य रहेको गृहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर मूल्य ५५० रुपैयाँ छ भने सबैभन्दा बढी सेयर मूल्य रहेको नेपाल फाइनान्सको सेयर मूल्य १४०० रुपैयाँ छ।
नेप्सेको पछिल्लो तथ्यांकअनुसार अधिकांश फाइनान्स कम्पनीको सेयर मूल्य ७०० रुपैयाँ हाराहारीमा छ। यसरी, हेर्दा पछिल्लो ६ महिनामा अधिकांश फाइनान्स कम्पनीको सेयर मूल्य झन्डै दोब्बरले वृद्धि भएको देखिन्छ।
जबकि, बैंकहरुमा भने सो किसिमको वृद्धि देखिँदैन। हुनतः केही समयदेखि फाइनान्स कम्पनीको सेयर कारोबार नै बढी मात्रामा चलयमान हुँदै आएको छ। समूहगत रुपमा हेर्दा दैनिक कारोबारमा बढी उतारचढाव भइरहेको समूह फाइनान्स नै हो। अन्यथा, विगत ट्रेन्ड हेर्ने हो भने बढ्दा नेप्से र बैंकिङ दुवै बढ्ने र घट्दा पनि दुवै एकैपटक घट्ने गरेको उदाहरण धेरै देख्न सकिन्छ।
यद्यपि, पछिल्लो वर्षहरुमा बैंकको वित्तीय अवस्था खस्किएको, बैंक तथा वित्तीय संस्थाविरुद्ध नकारात्मक अफहवा फैलिएको, बैंकहरुले विगतको जस्तैगरी लगानीकर्तालाई प्रतिफल दिन नसकेको चर्चा फैलियो।
यहि बीचमा बैंकका संस्थागत लगानीकर्ताले नै आफ्नो सेयर बिक्री गरेर बैंकबाट बाहिरिइरहेको चर्चा पनि भयो। यी कारणले बैंकिङ समूह संकुचनमा गयो जहाँबाट हाल पनि बैंकिङ समूह उठ्न सकेको छैन। जसको प्रभाव समग्र नेप्से सूचकमा नै परेको विश्लेषण पनि हुँदै आएको छ।
२०८१ वैशाख १० र २०८१ कात्तिक १३ गतको फाइनान्स कम्पनीहरुको सेयरमूल्य
बैंकिङ क्षेत्रले आलोचना भोगिरहेको समयमा बैंकिङ क्षेत्रका लगानीकर्ताले विस्तारै मार्ग परिवर्तन गर्दै नाफा बुक गर्ने उद्देश्यका फाइनान्समा लगानी गर्न थाले।
हाल पनि अधिकांश लगानीकर्ताहरु फाइनान्स कम्पनीको कारोबारमा नै बढी मात्रामा रमाइरहेको देखिन्छ। फलस्वरुप बैंकहरुको वित्तीय विवरण सुधार हुँदै जाँदा पनि त्यसको सकरात्मक प्रभाव सेयर बजारमा पर्न सकेको छैन। हालै बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
तथ्यांकअनुसार चालू आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड बढी खुद नाफा कमाएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकहरुले १३ अर्ब ३४ करोड खुद नाफा कमाएका थिए।
हाल बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयर धनीका लागि लाभांश घोषणा गरिरहेका छन्। कात्तिक १३ गते स्ट्यान्डर्ड चार्टड बैंकले २५.५ प्रतिशत लाभांश घोषणा ग¥यो। गत वर्ष भने बैंकले १९ प्रतिशत लाभांश वितरण गरेको थियो।
हालसम्म एभरेस्ट बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश, सिटिजन्सले ४.२१ प्रतिशत लाभांश, सानिमाले ५.२६३२ प्रतिशत लाभांश, ग्लोबल आईएमईले ५.५ प्रतिशत लाभांश, प्राइम कमर्सियलले ५ प्रतिशत नगद लाभांशको घोषणा गरेका छन्।
यद्यपि, यसको प्रभाव भने बजारमा देखिन सकेको छैन। बैंकको जस्तै अवस्था रहेको फाइनान्सको भने ट्रेडर र ब्रोकरको नाफा बुक गर्ने होडबाजीका कारण सेयर मूल्य बलियो अवस्थामा छ।