काठमाडौं। खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा नेपालमै सबैभन्दा लामो बेलिब्रिज जडान हुने भएको छ। असोज ११ र १२ को बाढीले फोक्सिङटारको मोटोरेवल पुल बनाएपछि बेलिब्रिज जडान गरेर यातायात सेवा सुचारु गराउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लागेको हो। फोक्सिङ्टारमा जडान हुने बेलिब्रिज हालसम्म नेपालमा जडान भएका मध्ये सबैभन्दा लामो हुने भौतिक मन्त्री देवेन्द्र दाहालले बताए।
२०८१ सालमा मात्रै बाढीले साना ठूला गरी देशभरीका मोटोरेवल पुल, कल्भर्टगरी कुल १६ वटामा क्षति पुगेको छ। जसमध्ये सिन्धुली र रामेछाप जिल्ला जोड्ने सुनकोसी (खुर्कोट)को पुलमा बेलिब्रिज जडान भइसकेको छ भने अरनिको राजमार्गमा पर्ने लिपिङ खोलामा बेलिब्रिज जडानका लागि नेपाली सेनाले काम सुरु गरेको भौतिक मन्त्रालयले जनाएको छ।
कान्ति लोकपथको बागमती खोला पुलको एउटा स्पान बगाउँदा पहुँच सडक निर्माण, मेची राजमार्गको हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सुचारु भएको छ।
नेपाल भरीका विभिन्न राजमार्गमा पर्ने खोलामा जडान गर्न भन्दै नेपालले भारतसँग २० थान बेलिब्रिज अनुदान सहयोग गरेको थियो। कति वटा बेलिब्रिज सहयोग आउँछ भन्ने निश्चित भएको छैन। भौतिक सचिव केशवकुमार शर्मा भन्छन्, ‘हामीले फरक–फरक लम्बाइका २० थान बेलिब्रिज सहयोग मागेका छौं, सहयोग कति दिन्छन् त्यो भारत सरकारसँग निर्भर हुन्छ। तर, केही सामान नेपाल आइसकेको र आउने क्रममा छ।’
कहिले जोडिएला बेलिब्रिज ?
भारतसँग सहयोग मागिएका २० थान बेलिब्रिज मध्ये ५० मिटर लम्बाइका धेरै वटा, ७० र ८० मिटर लम्बाइ केही कम तथा १२० मिटर लम्बाइको एउटा बेलिब्रिज रहेको भौतिक मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत् भारतसँग कुरा गरेर अनुदान एवं राहत सहयोगका सामान नेपालमा ल्याउन लागिएको हो। असोज २३ बाट बेलिब्रिजका सामान नेपाल भित्रिन थालेकोमा कात्तिक पहिलो सातासम्म ३५ ट्रक सामान आएको छ। तर, कुन लम्बाइका कति वटा पुलको सामान नेपाल भित्रिएको भन्ने एकिन भएको छैन।
‘ट्रकमा सामान आएको छ तर, के कस्ता छन् हामीलाई पनि थाहा भइसकेको छैन’ क्यापिटल नेपालसँग भौतिक सचिव शर्मा भन्छन्, ‘मंसिरसम्म सबै सामान आउँछ होला त्यसपछि हेरेर मात्रै थप कुरा भन्न सकिन्छ।’
बाढीले क्षति पुगेका अन्य स्थानमा वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न सहज भए पनि खोटाङबाट तराई\मधेश आवतजावत गर्न प्रयोग हुने फोक्सिङटारको पुल नहुँदा यात्रुले कष्टकर यात्रा गरिरहेका छन्। तर, त्यहाँ बढी समस्या हुँदैमा एउटा मात्रै पुलको सामान ल्याउन नमिल्ने भएकाले सबै सामान आएपछि मात्रै बेलिब्रिज जडानको काम सुरु हुने भौतिक मन्त्रालयले जनाएको छ।
फोक्सिङटारमा बाढीले बगाएको पुलभन्दा केही वरपर ठाउँ हेरेर बेलिब्रिज जडान गर्ने तयारी गरिएको भौतिक मन्त्री दाहालको भनाइ छ। ‘अहिले पुल भएकै ठाउँमा बेलिब्रिज जोडियो भने जोखिम हुन्छ त्यसैले नजिकै उपयुक्त ठाउँ हेर्दैंर्छौं’ मन्त्री दाहाल भन्छन्, ‘अनुदानको बेलिब्रिजका सामान नेपालको स्वामित्वमा भारतले दिएलगत्तै जडानमा पहिलो प्राथमिकता फोक्सिङटारमै हुन्छ।’ यद्यपि सबै सामान नआइसकेकाले कहिलेबाट पुल जडान सुरु हुन्छ अहिले भन्न नसकिने भौतिक मन्त्रालयले जनाएको छ।
छैन जडान गर्न सहज
नेपालमा अहिलेसम्म बढी लम्बाइ भन्नाले ८० मिटर लामा बेलिब्रिज जडान गरिएको छ। जसले गर्दा नेपाली प्राविधिकहरुसँग १२० मिटर लम्बाइको पुल जडानका लागि पर्याप्त अनुभव नहुँदा फोक्सिङ्टारमा बेलिब्रिज जडान सहज नभएको भौतिक मन्त्रालयका प्राविधिकहरु बताउँछन्। बेलिब्रिजमा एउटा मात्रै स्पान (खोलाको बीचमा पिरल नराखी वारिपारी सिधै जोडेर बन्ने पुल) हुन्छ। त्यस्तो अवस्थामा पुल जडान थप चुनौतीपूर्ण हुन्छ।
साथै १२० मिटर लम्बाइका पुलको प्रयोग थोरै मात्र हुने हुँदा छुट्टै डिजाइन गरेर तयार गर्नुपर्छ। मन्त्री दाहाल भारतले अनुदानमा बेलिब्रिजका सामानसहित जडानमा प्राविधिक सहयोग गर्ने अपेक्षा नेपालले गरेको बताउँछन्।
सचिव शर्माका अनुसार ५०, ७०, ८० मिटर लम्बाइका बेलिब्रिज जडान गर्न ठाउँ हेरेर दुई सातासम्म लाग्छ। तर, १२० मिटर लामो पुल जोड्न गर्न करिब एक महिना लाग्ने छ। अनुदान सहयोगमा बेलिब्रिज ल्याउन लागिएकाले बजेट खर्च एवं लागतको विषयमा नेपाललाई जानकारी छैन।