काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष (२०८१/८२)को बजेट ल्याएको छ। प्राधिकरणले चालू आर्थिक वर्षको लागि ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट ल्याएको हो। यो बजेट गत आर्थिक वर्षको तुलनामा २ अर्ब ५४ करोड ४८ लाखले कमि हो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको थियो।
प्राधिकरणले यस आर्थिक वर्षमा १५ अर्ब १ करोड ५२ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखेको छ। यस्तै ऋण र सेयर ३ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ गरी १८ अर्ब ७८ करोड २१ लाख रुपैयाँ हुने उल्लेख छ। बजेट उपयोगतर्फ भने पुँजीगत खर्चमा ११ अर्ब ५२ करोड २५ लाख, कर्मचारी सम्बन्धी खर्च २ अर्ब ३८ करोड ८ लाख, कर्मचारी अवकाश भुक्तानी ६५ करोड ३०, अन्य कार्य सञ्चालन खर्च ३ अर्ब ४९ करोड ३३ लाख गरी जम्मा १८ अर्ब ४ करोड ९५ लाख रुपैयाँ हुने गरी पास भएको छ।
यस्तै सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड ९० लाख रुपैयाँ उल्लेख छ। यस्तै मूल्य अभिबृद्धि कर प्राप्ती(बिक्री बापत) १ अर्ब ८१ करोड ५३ लाख र जम्मा आम्दानी २१ अर्ब ४६ करोड ६५ लाख हुने अनुमान गरेको छ। बजेटमा मूल्य अभिबृद्धि कर भुक्तानी १ अर्ब ८३ करोड १२ लाख, कर्मचारी अवकाश तथा अन्य भुक्तानी ३० करोड २५ लाख, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एस्क्रो खाता व्यवस्थापनका लागि २ अर्ब,सरकारलाई लाभांस भुक्तानीका लागि ३० करोड २९ लाख, सरकारको ऋणको साँवा २ अर्ब ६६ करोड ६५ लाख, सरकारको ऋणको व्याज भुक्तानी ३ अर्ब ३५ करोड ८२ लाख र कर्मचारी बोनस ५ अर्ब २४ करोड विनियोजन गरिएको छ।
यस्तै वायुयान सञ्चालन कोषको नन्अपरेटिभ खातामा ९० करोड ३४ लाख र स्थिर सम्पत्ति प्रतिस्थापन कोष २ अर्ब २२ करोड २१ लाख, आयकर व्यवस्था(प्रशासकिय पुनरावलोकन र पुनरावेदनको लागि समेत) २ अर्ब ४३ करोड २८ लाख रुपैयाँ गरी ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट पारित गरेको हो। २०८१ असारसम्मको अनुमानित शुरुको पेश्की मौज्जाद ३ अर्ब ८३ करोड ८५ लाख र २०८१ असारसम्मको अनुमानित शुरुको बैंक मौज्जाद ८ अर्ब ८२ करोड १४ लाख रहेको जनाएको छ।
५ महिनापछि पास भयो बजेट
सामान्यतया आर्थिक वर्षको अन्तिम असारमा बजेट पास भएर साउन १ अर्थात नयाँ आर्थिक वर्ष सुरुदेखिनै बजेट कार्यान्वयनमा आउनुपर्ने हुन्छ। तर, बदलिदो राजनीतिक परिस्थीति र राजनीतिक प्रभावको कारण संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको परिवर्तनको असर बजेटमा परेको हो। पर्यटन मन्त्री परिवर्तन भएसँगै बजेटको प्राथमिकता समेत बदलिने भएकोले प्राधिकरण नेतृत्वले पनि मन्त्रीको चाहना अनुसारनै बजेट ल्याउने गरेको छ। र, प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पनि पर्यटन मन्त्री नै हुने भएकोले त्यसको प्रभाव बजेट पासमा समेत हुँदै आएको छ।
यस्ता छन् बजेटका उद्धेश्यहरु
१. नागरिक उड्डयनको विकास तथा विस्तार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित,नियमित, स्तरीय र प्रभावकारी बनाउने
२. अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुमा थप पूर्वाधारको विकास,विस्तार तथा स्तरउन्नती गर्ने
३. विमानस्थलहरुमा जडित उड्डयन उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरणको स्तरउन्नती गर्ने
४. आर्थिक तथा वित्तीय अनुशासन कायम गर्ने
५. अन्तर्राष्ट्रिय संघसस्थाहरुसँगको सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने
६. मानव शंसाधनको विकास गर्ने
बजेटका प्राथमिकताहरु
१. उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण
२. पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन र वातावरणीय प्रभाव न्यूनिकरण
३. अन्तर्राष्ट्रिय संघसस्थाबीच सहकार्य
४. यात्रु सेवा सुविधामा अभिवृछि
५. आयवृद्धि
६. मानव शंसाधन विकास