काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एन्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए।
उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्र पहिचान र दुईपक्षीय हित प्रवर्द्धन गर्न सकिने खाले प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनियाँ व्यवसायीसमक्ष आग्रह गरेको चेम्बरले जनाएको छ।
पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुईपक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबीच महत्त्वपूर्ण छलफल भएको चेम्बरबाट जारी विज्ञप्तिमा उल्लेख छ।
चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरे। नेपालमा लगानी वातावरण एवं प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्नेसमेत अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए।
नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए। नेपाल भ्रमणका लागि समेत उनले चिनियाँ उद्यमी व्यवसायीलाई आग्रह गरेका थिए।