काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्ति सामना गर्न सक्ने ज्ञान र सीप हस्तान्तरण जरुरी रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मंगलबार नेपाल भूगर्भ समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री दाहालले अब बन्ने संरचना नेपालको भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनुपर्ने जोड दिए।
उनले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन जरुरी रहेको धारणा व्यक्त गरे। मन्त्री दाहालले भूगर्भको अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्नेमा जोड दिए।
रोजगारी, उद्यमशीलता र अवसर सिर्जना गरी युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन सरकार क्रियाशील रहेको र स्वदेशमा युवा रहे मात्र विपत्तिका बेला परिचालन गर्न सकिने बताए। नेपालको भौगर्भिक र वातावरणीय अध्ययन, संरचना निर्माणका डिजाइन, विपद् सामना तयारीलगायत विषयमा विज्ञहरुले विश्लेषण गर्नुपर्ने समय आइसकेको उनले दाबी गरे।
मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल भौगर्भिक विपत्तिको उच्च जोखिममा रहेकाले क्षति न्यूनीकरणका लागि ध्यान दिन आवश्यक रहेको बताए भने विभिन्न क्षेत्रका विज्ञहरुले जलवायु परिवर्तनको असर विश्वव्यापी चुनौती बनिरहेको धारणा व्यक्त गरे।
‘उत्थानशील भविष्यका लागि भावी पुस्ताको सशक्तीकरण’ नारासहित यस वर्ष विभिन्न निकायसँगको सहकार्यमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कार्यक्रम भूगर्भ समाजले आयोजना गरेको हो।