काठमाडौं। बाढीपहिरोका कारण तिब्बतको खासामा रोकिएका मालवाहक कन्टेनर मंगलबार बिहानबाट नेपालको रसुवागढी नाका भित्रिन थालेका छन्। बाढीपहिरोले रसुवा नाकाको केरुङतर्फको २४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि दसैं, तिहार र छठका लागि झिकाइएका व्यापारिक मालवस्तु एक महिनादेखि रोकिएका थिए।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बिहानबाट कन्टेनर तथा साना गाडी नेपाल भित्रन थालेको जानकारी दिए। चिनियाँ अधिकारीले सामानसहित १३ टन तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउ गर्न सक्ने सूचना हिजो नेपाललाई पठाएका थिए।
चिनियाँ अधिकारीहरुले दिएको सूचना उद्दृत गर्दै प्रजिअ पौडेलले कन्टेनर बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट सामान बोक्ने खाली कन्टेनर केरुङ जाने तालिका मिलाइएको बताए। आज बिहान केरुङबाट सामान लोड गरेका कन्टेनर तथा साना गाडी कम्तीमा ५० वटा भित्रने सूचना प्राप्त भएको रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्र प्याकुरेलले जानकारी दिए।
केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेको व्यापारिक मालवस्तु हजारौं टन छन्। सीमित तौलको सामान बोकेका कन्टनेर मात्र आउजाउ गर्न पाउने भएकाले नेपाली व्यवसायीको मालवस्तु सहज रुपमा नेपाल भित्रिन धेरै समय लाग्न सक्छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले केरुङमा ६ सय बढी कन्टेनर सामान रहेको बताए। फलफूलका कन्टेनर २० टनसम्म हुने भएकाले तोकिएको तौल न्यून भएको उनकाे भनाइ छ।
लामो समय लगानी अलपत्र परेकाले व्यापारी अत्तालिएका छन्', अध्यक्ष कार्कीले भने, '१३ टन सामान ल्याउन पाउने नीतिले फलफूलका कन्टेनर ल्याउन सकिँदैन। फलफूलका कार्टुन सानो गाडीमा लोड गरेर ल्याउँदा भाडा महँगो पर्छ।’ बाढीअघि एक नेपाली कन्टेनर सामान काठमाडौं ल्याउने ढुवानी भाडा ९० हजार रहेकोमा अहिले २ लाख पुर्याइएको गुनासो व्यवसायीको रहेको छ।
प्याकुरेलका अनुसार कन्टेनर बिहान ८ देखि ११ बजेसम्म केरुङबाट रसुवा आउने र यताबाट बेलुकी ४ बजेपछि केरुङ जाने तालिका बनाइएको छ। बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म चिनियाँले क्षतिग्रस्त सडक बनाउने समय निर्धारण गरेका छन्। केरुङतर्फको सडक धेरै बिग्रेको सीमा अधिकारीहरु बताउँछन्।
कतिपय स्थानमा सडकको नामोनिशान मेटिएको छ भने कतिपय स्थानको पूरै सडक भोटेकोशीमा खसेको केरुङबाट फर्केका व्यवसायी बताउँछन्। सडक पैदल हिँड्न पनि नहुने भएपछि दसैंअघि चिनियाँ सुरक्षाकर्मीको सहयोगमा नेपालीहरु केरुङबाट सीमासम्म आएका थिए।
विशेषगरी स्याउ, आँप, किबी, ओखर, लसुनलगायतका कुहिने र सडेर जान सक्ने खाद्यवस्तु आयात हुन नसक्दा नेपाली व्यवसायीले करोडौं नोक्सानी बेहारिसकेका छन्। चाडवाड केन्द्रित गरेर आयात गरेका व्यापारिक सामान पनि यस वर्ष बिक्री गर्न नसकिने भएको छ।
अब कन्टेनर आउन थालेपछि छठ अगाडि ती सामान बजार पुर्याउन सक्ने अवस्था नभएको व्यवसायीको भनाइ छ। यस अवधिमा लाखौं मूल्यकाे स्याउन कुहिएको छ। स्याउका कतिपय कन्टेनर केरुङको कोल्डस्टोरमा राखिएको छ।