काठमाडौं । नेपालमा प्रतिगामी कर र खर्च कटौती नीतिको कारण लगानीकर्ताको आत्मविश्वास धर्मराएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देब बाजपेयीले बताएका छन् ।
युनिलिभर नेपाल लिमिटेड नेपालको सबैभन्दा ठूलो उत्पादनमूलक उद्योग (म्यानुफ्याक्चरिङ) मध्ये एक हो । हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत शेयर रहेको यो कम्पनीले सौन्दर्य, व्यक्तिगत हेरचाह र घरायसी प्रयोगका सामान विक्री गर्ने गर्छ ।
कम्पनीको वार्षिक प्रतिवेदनमा रहेको बाजपेयीको वक्तव्यअनुसार उनले प्रतिगामी करप्रणाली भनेर आयातित तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी भन्सार महशुल लाग्ने प्रणाली (इन्भर्टेड ड्युटी स्ट्रक्चर) लाई इंगित गरेका छन् ।
‘हामी सह्दयताका साथ नेपाल सरकारलाई अनुरोध गर्छौं कि इन्भर्टेड ड्युटी स्ट्रक्चरविरूद्ध बलियो नीति आओस् र स्थानीय व्यवसायीका लागि मैत्री भन्सार दर कायम होस्,’ उनले भने । प्रतिगामी करप्रणालीले नेपालको स्थानीय अर्थतन्त्रलाई हानि गरिरहेको उनको भनाइ छ । उनले जसरी पनि उठाइ छाड्ने नीति वास्तविक व्यवसायका लागि पीडादायी भएको बताए ।
उनले तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी भन्सार लाग्ने प्रणालीका अतिरिक्त नेपालको आयातमुखी नीति, पूँजी बजार र विज्ञापन प्रतिबन्धनात्मक नियम, व्यापारका अवरोधहरू, गैरलगानीमुखी नियम र बौद्धिक सम्पत्तिसम्बन्धी नीतिहरूमा पनि सुधार चाहिएको र त्यसमा सरकारसँग काम गरिरहेको बताए ।
लामो समयदेखि नेपालको अर्थतन्त्रमा म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान घटदो क्रममा छ । यसमा युनिलिभर लिमिटेडले सरकारको समग्र आर्थिक नीति र निश्चित क्षेत्र विशेषको व्यावसायिक प्रदर्शनबीच तादात्म्यता नमिलेको स्पष्ट भएको बताएको छ । बाजपेयी म्यानुफ्याक्चरिङ क्षेत्रलाई माथि उठाउन तत्काल लक्षित रणनीति ल्याउनुपर्ने बताउँछन् ।
कारोबार घट्यो
पब्लिक लिमिटेड कम्पनीहरूमा सबैभन्दा धेरै प्रतिशेयर लाभांश घोषणा गरेको युनिलिभर लिमिटेडको वार्षिक कारोबार गत आर्थिक वर्ष सामान्य खुम्चिएको छ । कम्पनीको वार्षिक प्रतिवेदन २०८०/८१ का अनुसार वार्षिक कारोबार गत आर्थिक वर्ष २ दशमलव ८ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा कम्पनीको वार्षिक कारोबार सञ्चालनबाट गरेको आम्दानी ८ अर्ब २४ करोड रुपैयाँभन्दा बढी छ । अघिल्लो आव २०७९/८० मा ८ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी वार्षिक कारोवार थियो ।
कम्पनीले मागमा आएको कमीका कारण कारोबारमा गिरावट आएको बताएको छ । मूल्य वृद्धि, उपभोक्ताको छनोट र उपभोक्ताको घटेको साख र न्यून आयका कारण वार्षिक कारोबारमा कमी आएको कम्पनीका अध्यक्ष बाजपेयीले बताए । ‘म यो स्वीकार गर्छु कारोबार हामीले आन्तरिक रूपमा आशा गरेअनुरूप भएन,’ उनले भने, ‘यो अवस्थालाई परिवर्तन गरी उपभोक्ताको मन जित्न हामीले सक्रिय कदम चालिसकेका छौं ।
हामी विश्वास गर्छौं कि विप्रेषण, पूर्वाधार क्षेत्रमा सरकारी खर्च र सरकारको लोककल्याणकारी कदमले उपभोग बढाउनेछ ।’ यही आशाका साथ युनिलिभर लिमिटेडले ब्रान्ड प्रवर्द्धन र कम्पनीको मूल्य मान्यता स्थापित गर्न खर्च बढाएको पनि बाजपेयीले जानकारी दिए ।
समग्र कारोबार घटे पनि नाफामा भने गत आव सुधार गरेको कम्पनीले बताएको छ । मुख्य क्षेत्रमा वस्तु विविधीकरण रणनीति, गुणस्तर सुधार गरी मूल्य बढाई, स्थानीयकरण र घरायसी र छाला सफा राख्ने वस्तुको प्रभावकारी मूल्य राखी नाफा बढाएको कम्पनीले बताएको छ ।
अघिल्लो आव २०७९/८० मा यो नाफा १ अर्ब ८३ करोड ४३ लाख रुपैयाँभन्दा बढी थियो । खुद नाफा भने अघिल्लो वर्षको तुलनामा गतवर्ष साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । युनिलिभरले नेपालको धितोपत्र बजारको इतिहासमै सर्वाधिक प्रतिशेयर लाभांश वितरण गर्ने कम्पनीको लामो समयदेखिको पहिचान कायम राख्ने बताएको छ ।
सोमवार कम्पनीको ३१औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष बाजपेयीले सूचीकृत कम्पनीमध्येकै सर्वाधिक लाभांश वितरण गर्न कम्पनी हालसम्म सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि सो स्थान कायम राख्न प्रतिबद्ध रहेको बताए ।
यसपालि गत आव २०८०/८१ को मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव सभाले पारित गरेको छ । विगत वर्षहरूमा कम्पनीले आकर्षक लाभांश वितरण गर्दै आएकोमा केही रकम लाभांश दाबी गर्न शेयरधनी नआएको अध्यक्ष बाजपेयीले जानकारी दिए ।
पाँच वर्ष पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था रहेकाले डिम्याट हुन बाँकी शेयर यथाशीघ्र डिम्याट गरी आफ्नो लाभांश सुरक्षित गर्न उनले आग्रह गरे । कम्पनीका अनुसार गत असार मसान्तसम्ममा ३० लाख ५२ हजार रुपैयाँ पुरानो लाभांश वितरण हुन बाँकी छ ।
पछिल्ला ३ आव कम्पनीको लाभांश निरन्तर बढ्दो क्रममा छ । आव २०७८/७९ को मुनाफाबाट कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । कम्पनीले सबैभन्दा कम नगद लाभांश आव २०७६/७७ को मुनाफाबाट प्रतिकित्ता १०० रुपैयाँ वितरण गरेको देखिन्छ । लाभांश वितरणलाई निरन्तरता दिँदै आएको कम्पनीले नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई चुनौती दिने गरी नै लाभांश वितरण गर्दै आएको हो ।