काठमाडौं। पर्यटन आवागमको मुख्य सिजनमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न थालिएपछि तारे होटल कर्मचारीलाई बेतलबी बिदा राख्ने पक्षमा पुगेका छन्।
अहिले होटल सञ्चालक र व्यवस्थापनबीच छलफल चलिरहेको छ। सरकारले पर्यटक आवागमनको मुख्य सिजनमै विमानस्थल बन्द गरेर स्तरोन्नति गर्ने निर्णय गरेपछि कर्मचारी कटौतीदेखि बेलतबी बिदासम्म राख्ने निर्णयमा पुगेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेबाट चैत १८ गतेसम्म दैनिक १० घन्टा विमानस्थल बन्द घाेषणासँगै हाेटल सञ्चालकहरुले यस्तो निर्णय गर्न थालेका हुन्।
प्राधिकरणको अदूरदर्शी निर्णयका कारण होटल सञ्चालकले कर्मचारी कटौतीदेखि बेतलबी बिदासम्म गराउने भएका हुन्। प्राधिकरण र सञ्चालकका कारण कर्मचारी रोजगार हुने खतरा बढेको छ।
होटल सञ्चालकले ‘लो’ सिजनमा केही समय विमानस्थल बन्द गराएर स्तरोन्नति गर्न भने पनि क्यानले नटेर्दा बाध्य भएर कर्मचारी कटौतीको पक्षमा जानुपरेको एक सञ्चालकले बताए। ‘राम्रो काम गरेका कर्मचारी कटौती गर्नुपर्ने अन्य कुनै कारण छैन,’ ती सञ्चालकले भने, ‘सरकारले अप्रत्यक्ष रुपमा होटल नै बन्द गराइदिएपछि कसरी कर्मचारीलाई पाल्न सकिन्छ?’
उनका अनुसार सरकारलाई बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सञ्चालक र व्यवस्थापकबीच कर्मचारी कटौती र बेतलबी बिदामा राख्न सहमत भइयो।
अहिले पाँचतारे र चारतारे होटल सञ्चालक र व्यवस्थापकबीच सघन छलफल चलिरहेको छ। कतिपय होटलले कर्मचारी कटौतीको निर्णयसमेत गरिसकेका छन्।
पाँच/चारतारे होटल सञ्चालकसहित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र पर्यटन विभागका महानिर्देशकसहितको उपस्थितिमा भएको छलफलमा विमानस्थल स्तरोन्नतिको समय सार्न सुझाइएकाे थियाे। पर्यटकीय सिजनमा विमानस्थल बन्द हुँदा भर्खरै तंग्रिन लागेको होटल व्यवसाय चौपट हुने भएकाले समय सार्न सुझाव दिइएको हो।
विमानस्थल स्तरोन्नति हुनु आफैंमा राम्रो भए पनि त्यसका लागि उपयुक्त समय नोभेम्बर नभई डिसेम्बर अन्तिमदेखि फेब्रुअरीभित्र सकाउन सरकारसँग आग्रह गरिएका थिए। विमानस्थल स्तरोन्नति हुँदा दैनिक १० घन्टा विमानस्थल बन्द हुने सूचना जारी भइसकेको छ।
पर्यटकीय सिजनको मुखमै विमानस्थल मर्मतको नाममा बन्द गरेर पर्यटन क्षेत्र ध्वस्त पार्ने काम हुन लागेको उनीहरुको गुनासो छ। कमाइ हुने सिजनमै सरकारले कमाउनबाट बञ्चित गरेपछि कर्मचारीलाई सेवा सुविधा दिन नसकिने सञ्चालकको भनाइ छ।
अहिले अधिकांश पाँचतारे होटलले कर्मचारी कटौतीको निर्णय गरिसकेका छन्। चारतारेका सञ्चालक पनि छलफलमा छन्। यदि क्यानले आफ्नो निर्णयलाई सच्याए कर्मचारी कटौती नगर्ने ती सञ्चालक बताउँछन्।