काठमाडौं। सेयर बजारलाई भोलाटायल हुन नदिने औजारको रुपमा रहेको सर्टसेल नेपालमा पनि सुरु गरिनुपर्ने आवाज उठिरहेको छ।सर्टसेलले सेयर बजार भोलाटायल हुनबाट बचाउने भएकाले विश्वका अधिकांश देशमा यो कार्यान्वयनमा छ।
खासगरी, स्टकको अनावश्यक ओभर भ्यालुयसनलाई सही गर्न मद्दत गर्ने, तरलता प्रदान गर्ने, खराब स्टक अचानक वृद्धि हुनबाट रोक्ने र यसका प्रवर्द्धकहरूले मूल्यमा हेरफेर गर्न नसक्ने स्थिति सिर्जना गर्ने भएकाले विश्वभरका पुँजी बजारका नियामकले सर्टसेल कार्यान्वयमा ल्याएका छन्।
सर्टसेल कार्यान्वयनमा आउँदा घट्दो बजारमा पनि सेयर बिक्री गरेर फाइदा लिन सकिने, बजारको प्रवृत्ति र ओभरभ्यालुड स्टकहरू पहिचान गर्न मद्दत पुग्ने, पोर्टफोलियोलाई बजारको गिरावटबाट जोगाउन सकिने ठाउँहरु हुन्छन्।
यहि कारणले नेपालमा पनि सर्टसेल कार्यान्वयनमा ल्याउनुपर्ने आवाज लगानीकर्ताहरुले उठाइरहेका हुन्। साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी नेपालमा सर्टसेल अपरिहार्य जस्तै भइसकेको बताउँछन्।
‘अन्तर्राष्ट्रिय अभ्यासमा हेर्ने हो भने बजार भोलाटायल हुनबाट बचाउन सर्टसेलले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। बजारलाई भोलाटायल हुन नदिई मजबुद बनाउने भएकाले नै धेरै देशले सर्टसेललाई प्राथमिकतामा राखेका छन्,’ अध्यक्ष जिसी भन्छन्, ‘हाम्रो बजार पनि बेलाबेला अनावश्यक भोलाटायल भएर जाने गरेको छ जसलाई रोक्न तत्काल सर्टसेल लागू गर्नुपर्ने हुन्छ।’ अध्यक्ष जिसीले अन्तर्राष्ट्रिय अभ्यास र अवस्था अध्ययन गर्दा पनि सर्टसेल नेपालका लागि अत्यावश्यक देखिएको बताए।
नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नेतृत्वसँगको हरेक भेटमा पनि सर्टसेल तत्काल लागू गर्न माग गर्दै आएको अध्यक्ष जिसीले जानकारी दिए।
हुनतः नेपाली पुँजीबजारमा सर्टसेलको चर्चा सुरु भएको लामो समय भइसकेको छ। सर्टसेल (खातामा सेयर नहुँदा पनि किनबेच गर्न पाइने) व्यवस्थाले बजारको म्यानुपुलेसन पनि नियन्त्रण गर्न पनि मद्दत गर्दछ। यस हिसाबमा नेपालमा पनि सर्टसेल पहिल्यै कार्यान्वयमा आइसक्नुपर्ने हो तर, नियामकहरुले यसतर्फ काम नगरेको गुनासो आइरहेको छ।
सेयर लगानीकर्ता केशव कोइराला बजारमा हुने म्यानुपुलेसन कम गर्नका लागि पनि सर्टसेल कार्यान्वयनमा आवश्यक भएको बताउँछन्। ‘संसारभरी नै सप्लाई कम भएका, पुँजी कम भएका कम्पनीमा अलिअलि म्यानुपुलेसन हुन्छ। त्यसमा रोक लगाउने टुल भनेकै इन्ट्राडे र सर्टसेलिङ हो,’ कोइराला भन्छन्, ‘तर, हाम्रो राज्य र नियामकले निकम्मा भएकाले यसतर्फ काम गर्न सकेका छैनन्।’ कोइराला केही वर्ष अगाडिदेखि नै कार्यान्वयमा आउनुपर्ने सर्टसेल लागू नहुँदा बजार प्रभावित पार्नेका लागि ‘लुपहोल’ बाँकी रहेको बताउँछन्।
बजारमा देखिने अस्वभाविक गतिविधि र विकृति रोक्ने औजारहरु तत्काल ल्याउनुपर्नेमा त्यसतर्फ नियामकको ध्यान जान सकेको छैन। सर्टसेल ल्याउँदा लगानीकर्ताको सचेतनाको अवस्था हेरेर लागू गर्दा उचित हुने देखिन्छ।
यसर्थ, सचेतना फैलाएर बजारमा नयाँनयाँ प्रोडक्ट ल्याउन सकेमा त्यसले नेपाली पुँजी बजारलाई राम्रो बनाउन सक्दछ। स्टक ब्रोकरहरुले पनि इन्ट्राडे तत्कालै र सर्टसेल लगानीकर्ताको सचेतना अवस्था हेरेर लागू गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।
नेप्से सिईओ कृष्णबहादुर कार्की सर्टसेलका विषयमा विभिन्न पाटोबाट अध्ययनको काम भइरहेको बताउँछन्। ‘सर्टसेलको औचित्य र आवश्यकता, सम्भावना, आवश्यक पूर्वाधार, जोखिम जस्ता कुरामा अध्ययन भइरहेको छ। तर, यी विषयलाई सम्बोधन गर्नका लागि हाल नीतिगत व्यवस्था भने छैन,’ सिईओ कार्की भन्छन्, ‘धितोपत्र ऐन, विनियमावली संशोधन गरेर यी कुरालाई सम्वोधन गरेमा र प्रविधि पनि सोहीअनुसार भित्र्याएको खण्डमा मात्रै यसतर्फ जान सकिन्छ।’ यी सबै विषयका बारेमा चर्चा भएपनि कार्यान्वयमा जानका लागि भने केही समय लाग्ने उनको तर्क छ।
नेपालको सेयर बजारमा मूल्य बढ्दा मात्रै कमाउन सकिने अवस्था छ जसलाई एकोहोरो बजार पनि भनिन्छ। यदि, सर्टसेल लागू गरेको खण्डमा बजार घट्दा पनि कमाउने ठाउँ हुन्छ अर्थात् अन्तर्राष्ट्रियको जस्तै बजार दोहोरो हुन्छ।
दोहोरो बजार भनेको यस्तो वित्तीय बजार हो, जहाँ मूल्य बढ्नेतिर सेयर किन्ने र मूल्य घट्नेतिर बेच्ने सर्टसेल उपलब्ध हुन्छ। लगानीकर्ताले दुवै प्रकारका कारोबार गर्न सक्छन् भने मूल्य बढ्ने र घट्ने अवस्थामा लाभ लिन सक्छन्। सर्टसेल एउटा यस्तो रणनीति हो जसमा लगानीकर्ताले आफूसँग नभएका सेयर बिक्री गरेर पछि सस्तो मूल्यमा किनेर ब्रोकरलाई फिर्ता गर्न सक्छन्।
यस्तो सर्टसेल गर्नका लागि लगानीकर्ताले सेयर ब्रोकरबाट उधारो लिन सक्दछन्। सेयर बजारमा गिरावट आउँदा सर्टसेल बढी लोकप्रिय हुन्छ। अन्य लगानीमा नोक्सानबाट बच्नका लागि सर्टसेललाई हेजिङका रूपमा प्रयोग गर्न सकिन्छ।
यद्यपि, सर्टसेलबाट फाइदा मात्र लिन सकिन्छ भन्ने होइन। मूल्य घट्छ भनेर सर्टसेल गरेको सेयरको मूल्य बढ्न पनि सक्छ। मूल्य जति बढे पनि खरिद गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा नोक्सानीको सम्भावना पनि उतिकै हुन्छ। नेपाली बजारमा टे«डर बढी हाबी हुने हुँदा सर्टसेलले बजारमा एकैपटक आउने ठुलो गिरावलाई रोक्न पनि भूमिका खेल्दछ।