काठमाडौं। भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना हल्ला मात्र भएको पुष्टि भएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको बताइन्।
नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको उनले बताइन।
सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो। रोकिएको जहाज अव नियमित उडानमा फर्किने बाटो खुलेको छ।
यसअघि कात्तिक ६ मा पनि भारतीय विमान भिस्तारा एयरमा बम राखेको हल्ला चलाइए पनि पुष्टि हुन सकेको थिए। भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरमा बम नभएको पुष्टि भएको थियो।
नेपाली सेनासहितका सुरक्षाकर्मीका टोलीले ६ घन्टा लगाएर गरेको जाँचपछि बम नभएको पुष्टि भएको हो।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओकाे नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घन्टासम्म सर्च गर्नुपर्ने हुन्छ। बम हल्लासँगै त्रिभुवन विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा सुरक्षाकर्मीले यात्रुका लगेजसमेत जाँचेका थिए। पछि बमको हल्ला गलत भएको थियो।
पछिल्लो समय जहाजमा बम राखिएको हल्ला चलाइँदा यात्रुले दुःख पाएका छन् भने भारतीय विमान कम्पनीले करोडौं गुमाइरहेका छन्। सरकारी स्वामित्वको एयर इन्डियासहित इन्डिगो, भिस्तारा, अकासा, स्पाइसजेट, स्टार एयर, अलायन्स एयरलगायत कम्पनीले कराेडाै घाटा बेहाेरेका छन्।