काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स कन्फरेन्समा मन्त्री भण्डारीले एआईसम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकासमार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हामी यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ। डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्तान्तरण, स्टार्टअप इन्क्युबेसन र एक्सेलेरेसन, लगानी प्रवर्द्धनजस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।’
मन्त्री भण्डारीले आफू नेतृत्वको मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तीकरण कार्यक्रम अघि बढाउने योजना बनाएको बताए।
उनले नेपालको औद्योगिक क्षेत्रमा एआई र रोबोटिक्स प्रविधिको भूमिका एवं सम्भावनाबारे गहन छलफल गरिएकामा खुसी व्यक्त गरे। यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिले मुलुकको औद्योगिक रुपान्तरणका लागि नयाँ दिशा र सम्भावना प्रस्तुत गरेको उनको भनाइ छ।
एआई प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति शृंखला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्यक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषणजस्ता आयाममा उल्लेखनीय योगदान र सहजीकरण गर्दै आएको भन्त्री भण्डारीको धारणा छ।