काठमाडौं। सिन्धुपाल्चोकमा साढे ७ करोड रुपैयाँ लगानीको पोल्ट्री उद्योग सञ्चालनमा आउने भएको छ। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ दसकिलोस्थित सल्लाघारीमा सिन्धु पोल्ट्री फार्म उद्योग सञ्चालनमा आउने भएको हो। यो पोल्ट्री फार्म युवा व्यवसायी आरएस भण्डारी र केबी एग्रो एन्ड रिसर्च कम्पनीको सहकार्यमा खुल्न लागेको हो।
सिन्धु पोल्ट्री फार्ममा ५० हजार कखुरा एक पटकमा तयार पार्न सकिनेछ। यो फार्म जर्मन प्रविधिमा बनेको पूर्ण वातावरण अनुकुलित खोर भएकाले कुखुरामा आउने धेरै किसिमका रोगको जोखिम कम हुने र स्वस्थ मासु उत्पादन हुने केबी एग्रो एन्ड रिसर्च कम्पनीका अध्यक्ष केशवराज थापाले बताए। उनका अनुसार सिन्धु पोल्ट्री फार्म सिन्धुपाल्चोकको अहिलेसम्मकै ठूलो र नयाँ प्रविधिको कमर्सियल कुखुरा फार्म हो।
पोल्ट्री फार्मबाट उत्पादित तयारी कुखुरा नेपालको पहिलो पूर्ण स्वचालित चिकेन प्रोसेसिङ प्लान्ट (अत्याधुनिक वधशाला) केबी एग्रो एण्ड रिसर्च कम्पनीमा प्रशोधित गरी बजार व्यवस्थापन गरिने व्यवस्था मिलाइएको छ। धादिङमा अवस्थित केबी एग्रो एन्ड रिसर्च कम्पनी करिब १ अर्ब लगानीमा बनेको अन्तर्राष्ट्रिय स्तरको प्रोसेसिङ प्लान्ट हो।
केबी एग्रोका अध्यक्ष थापाका अनुसार उक्त वधशालामा नेपालकै सबैभन्दा अत्याधुनिक र ठूलो प्रोसेसिङ प्लान्ट भएकोले कम्पनीले प्रतिघन्टा २००० कुखुरा प्रशोधन क्षमता राख्छ। स्वचालित प्रविधिको भएकोले उक्त उद्योगबाट उत्पादन हुने मासु र यसबाट बनेको परिकार पूर्ण रुपमा स्वस्थ हुनेछ।
३० रोपनी जग्गामा बनाइएको सिन्धु पोल्ट्री फार्ममा आधुनिक प्रविधि र शैली अपनाइएको छ। हुन त, नेपालमा उद्योग सञ्चालनमा आधुनिक प्रविधि र प्रणाली अपनाउन नसक्दा र पुरातन तरिकाले काम गर्दा धेरै किसान घाटामा गएका छन्। सही प्रजातिका कुखुरा छनोट गर्न नसकेका कारण पनि धेरै किसान पलायन भइरहेको अवस्था छ।
यस्तो अवस्थामा सिन्धु पोल्ट्री फार्मले जर्मन कम्पनीको नयाँ र आधुनिक मेसिन जडान गरेको छ। अध्यक्ष थापाका अनुसार युवाका लागि प्रेरणा होस् भन्ने उद्देश्यले सिन्धुपाल्चोकमा पोल्ट्री उद्योग सञ्चालनमा ल्याउन लागिएको हो। यहाँ उत्पादित कुखुरा धादिङको प्लान्टमै प्रोसेसिङ हुनेछ।
अध्यक्ष थापाले उद्योगमा प्रयोग भएका मेसिन टर्की, जर्मनी, इटाली, होल्यान्ड, पोल्यान्डबाट ल्याइएको र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘मेसिन जडान गर्न सम्बन्धित देशबाट प्राविधिक आएका छन्। अहिलेको सबैभन्दा जटिल समस्या भनेको फोहोरको हो, जसलाई हामीले मोहोरमा रुपान्तरण गर्नेछौं,’ थापा भन्छन्, ‘कुखुराको भुत्ला, आन्द्रा, रगतलगायतका खेर जाने चीजलाई मल बनाएर प्रयोगमा ल्याउनेछौं।’
थापाका अनुसार हाल उद्योग सञ्चालन गर्न लागिएको सल्लाघारीमा कुखुरापालन धेरै मात्रामा गरिएको छैन भने हावापानी पनि स्वच्छ छ। यस्तै, कुखुरा ढुवानीका लागि दूरी पनि टाढा छैन। त्यसैले सिन्धु पोल्ट्री फार्मबाट उत्पादित कुखुरा धादिङको प्रोसेसिङ प्लान्टमा प्रशोधित गरी राम्रो मासु उत्पादन गरेर विदेशमा पनि निर्यात गर्ने योजना रहेको अध्यक्ष थापा बताउँछन्।
‘आजका दिनमा नेपालबाट अन्य देशमा न्यून मात्रै मासु निर्यात भइरहेको छ। भोलिका दिनमा दुबई, कतार, साउदी, तिब्बतलगायत देशमा मासु निर्यात गर्ने योजना छ,’ थापा भन्छन्, ‘हामीले गुणस्तरीय मासु निकालेर बजार पठाउनेछौं।’
उच्च हाइजेनिक र अर्गानिक चिकेन उत्पादन गर्ने लक्ष्य रहेको थापाको भनाइ छ। स्वचालित मेसिनले कति दाना खुवाउने, कति तापक्रम दिने, वातावरण कस्तो राख्ने भन्ने कुरा कम्प्युटराइज गर्छ। यसबाट उत्पादनमा सहयोग पुग्ने उनको तर्क छ।