काठमाडौं। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागेजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ। अमेरिकामा आयोजित कार्यक्रममा ग्लोबल फाइनान्सका फाउन्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरे।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो। अध्यक्ष ढकालले सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा उपलब्ध गराउन गरेको बताए।
ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान गरेको हो।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरुलाई प्रतिष्ठित अवार्ड दिने गर्दछ।
ग्लोबल फाइनान्सले २०२४ का लागि हङकङको एचएसबीसी, अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बंगलादेशको स्ट्यान्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रोबैंकलगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो।
यसअघि पनि बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ। हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २५५ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।