काठमाडौं। नेपालमा नयाँ विद्युतीय गाडी(इभी)को बजार उल्लेख्य रुपमा बढे पनि सेकेन्ड ह्याण्ड(दोस्रो) बजार भने बढ्न सकेको छैन। नयाँ विद्युतीय गाडीको बजारको तुलनामा सेकेन्ड ह्याण्ड बजार बढ्न नसकेको हो।
ईभीको सञ्चालन खर्च कम लाग्ने भन्दै अधिकांश मानिसको रोजाइमा ईभी नै पर्ने गरेको देखिन्छ। जति ईभी गाडीको प्रयोग तथा आयात भएको छ यस्को तुलनामा ईभीको सेकेन्ड ह्याण्ड बजार भने एकदमै न्युन छ। नयाँ ईभी आयातको संख्या हेर्दा सेकेन्ड ह्याण्ड ईभीको माहोल एकदमै राम्रो हुनु पर्ने हो। तर, सेकेन्ड ह्याण्ड बजारमा ईभी गाडीहरु बिक्रीका लागि कम आउने गरेको पाइन्छ।
नेपालको सेकेन्ड ह्याण्ड बजारमा ५ प्रतिशत मात्र ईभी बिक्रीका लागि आउने गरेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइराला बताउँछन्। ‘नयाँ ईभी किन्दा ८० प्रतिशत फाइनान्सको सुविधा बैंकले दिएको छ। तर, सेकेन्ड ह्याण्ड ईभीमा बैंकले ऋण लगानी गर्दैन। त्यो कारणले गर्दा सेकेन्ड ह्याण्ड ईभी किन्ने ग्राहकले नयाँ ईभी किन्छन्,’ अध्यक्ष कोइराला भन्छन्, ‘रिकन्डिसन हाउसमा ईभी गाडी पाउनै मुश्किल छ,यदि बजारमा ईभी आइहाल्यो भने पनि बिक्री हुने सम्भावना कम छ।’
नयाँ ईभी ग्राहकको रोजाइमा परे पनि सेकेन्ड ह्याण्ड ईभी ग्राहकको रोजाइमा पर्न नसकेको सेकेन्ड ह्याण्ड गाडी बिक्री गर्ने राज अटो सेन्टरका सञ्चालक राज लुइटेल बताउँछन्। ‘ईभी भर्खरै मात्र आक्रामक रुपमा आएको हुनाले यसको दोस्रो बजार बिकसित हुन केही समय कुर्नुपर्छ,’ लुइटेलले भने, ‘समग्र तथ्यांक हेर्दा नेपालमा ८० प्रतिशत ईभी प्रयोगकर्ताहरु छन्। जुन भारतमा ३ प्रतिशत मात्र छन्। ईभी नयाँ प्रविधि भएकाले अनेक कुराहरु आइरहेका छन्। त्यसैले यसको सेकेन्ड ह्याण्ड बजार राम्रो हुन समय लाग्छ।’
सेकेन्ड ह्याण्ड ईभीको मूल्यांकन त्यसको ब्याट्री तथा मोटरलाई हेरेर गरिन्छ। इलेक्ट्रिक गाडीको ब्याट्रीको आयु सामान्यतयाः ७ देखि ८ वर्षसम्म दिएको छ। ६ वर्ष पूरानो गाडी किन्दा २ वर्ष वारेन्टी रहन्छ। ९ वर्षमा ब्याट्री किन्न प¥यो भने कति लागत आउँछ? भन्ने कुराले सेकेन्ड ह्याण्ड ईभी गाडी किन्नेमा अन्योल हुनसक्छ। ईभीको ब्याट्री वारेन्टी र कति किलोमिटर कुद्यो त्यसको आधारमा गाडी मूल्यांकन गर्न कठिन पर्छ।
अहिलेको समय ईभीको लागि परीक्षणको समय भएको हुनाले अहिले नै सेकेन्ड ह्याण्ड ईभी खासै किनबेच नहुने लुइटेको भनाई छ। ‘नेपालमा ईभीको सेकेन्ड ह्याण्ड बजार पर्ख र हेर को अवस्थामा छ। बजार हेर्नुनै पर्छ अहिले नै यस्तो छ भन्ने अवस्था छैन,’ व्यवसायी लुइटेलले भने, सेकेन्ड ह्याण्ड ईभीको बजार फष्टाउन अझै केही समय लाग्छ। अहिले अन्धाधुन्दा कै अवस्थामा छ।’
नेपालमा ईभी गाडीको आयात भर्खरै मात्र तीव्र रुपमा अघि बढेको हुनाले ईभी रिकन्डिसन बजारमा एकदमै कम आउने गरेको सेकेन्ड ह्याण्ड गाडी बिक्री गर्ने सवारी मोटर्सका सञ्चालक माधव रिजाल बताउँछन्। ‘ईभी गाडी भर्खरै मात्र आउनेक्रम बढेको हो। त्यसकारण अहिले नै रिकन्डिसन बजारमा आइसकेको छैन।’ रिजालले भने,इन्धन गाडीको तुलनामा ईभी गाडी रिकन्डिसन बजारमा एकदमै कम आउने भएकाले यसको व्यापार पनि खासै नहुने रिजाललले तर्क गरे।
सेकेन्ड ह्याण्ड बजारमा ग्राहकहरु इन्धन गाडी मात्र खोज्न आउने पोखरा रिकन्डिसन हाउसका ईश्वर सुवेदी बताउँछन्। ‘सेकेन्ड ह्याण्ड बजारमा ईभी भन्दा इन्धन गाडी खोज्ने धेरै आउँछन्,’ सुवेदीले भने, ‘ईभी सेकेन्ड ह्याण्ड बजारमा ग्राहकको आकर्षण कम भएकाले ईभी खोज्न कम ग्राहक आउँछन्।
नेपालमा ईभी बिक्रेता कम्पनीहरुले चाडपर्व अनुसार विभिन्न खालको अफर तथा एक्सचेञ्ज मेलाहरु आयोजना गर्ने गरेका छन्। कम्पनीहरुले दिएको अफर बैंकले दिने अटो लोन र डाउन्ट पेमेन्ट जस्ता सुविधाहरुले गर्दा पनि सेकेन्ड ह्याण्ड ईभी भन्दा नयाँ ईभी किन्न ग्राहकहरुमा चासो देखिन्छ। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को तीन महिना (साउनदेखि असोज)सम्म २५ सय १८ युनिट ईभी चारपांग्रे सवारीसाधन नेपाल भित्रिएका छन्।