काठमाडौं। नागढुंगा सुरुङमार्गमा ‘सेफ्टी फिचर जडान’का लागि ठेक्का आह्वान हुने भएको छ। वैशाख ३ मा ब्रे थ्रु (छिचोलिएको) भएको उक्त सुरुङमा यातायात सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था गर्न सेफ्टी फिचर जडानका लागि ठेक्का आह्वान गर्न लागिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
मुख्य सुरुङ लाइनिङ (सुरुङ भित्रको ढलान)को काम सकिएकाले अब सेफिट् फिचर जडानको लागि ठेक्का लगाउन लागिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सञ्जय पन्थि बताउँछन्।
सेफ्टि फिचर भन्नाले सुरुङ भित्र बत्ति जडान, अक्सिजनको व्यवस्था, आगालागी भएमा आपतकालीन अवस्थामा गरिने व्यवस्थापनलगायत पर्दछ। अन्य स्थानमा जस्तो विद्युत सेवा सुरुङमार्ग भित्र अवरोध हुन मिल्दैन। जसले गर्दा २४सै घण्टा हुनेगरी सबै व्यवस्था मिलाएर मात्रै सर्वसाधारणका लागि सुरुङमार्गबाट सवारी सञ्चालनका लागि खुला गर्नुपर्ने हुन्छ।
नेपालमा पहिलो पटक आधुनिक तरिकाले सुरुङमार्ग निर्माण गरिएकाले सुरुङको काम गर्न पर्याप्त अनुभव नेपाली प्राविधिकहरुसँग छैन। यद्यपि नागढुंगा सुरुङमार्गसहित जलविद्युत आयोजना, खानेपानी आयोजना एवं काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङमा केही नेपाली इन्जिनियरले काम गरेका छन्।
तर, उक्त अनुभवले मात्रै नागढुंगामा सेफ्टी फिचर जडान गर्न सकिन्छ वा विदेशी प्राविधकिको सहयोग लिनुपर्छ निश्चित छैन। जसले गर्दा ठेक्का आह्वान गरेर निजी क्षेत्रलाई सेफ्टी फिचर जडानको जिम्मेवारी दिन लागिएको सिडिई पन्थि बताउँछन्। भौतिक, पूर्वाधार तथा मन्त्रालय र सडक विभागले आवश्यक छलफलफ गरिरहेकाले अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्ने कि आन्तरिक ठेक्का आह्वान हुन्छ भन्ने निश्चित भएको छैन।
नगढुंगा सुरुङ जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन छ। जापानिज कम्पनी हाज्मा एन्डो कर्पोरेसनले २०२५ अक्टोबर (२०८२ कात्तिक) सम्म निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सुरुङको स्वामित्व पाएको बढीमा तीन महिना अर्थात् २०८२ माघबाट सवारी सञ्चालन गर्ने लक्ष्य भौतिक मन्त्रालयको छ।
जसका लागि सेफ्टी फिचर जडानको काम अहिलेबाट सुरु नगर्दा सुरुङको स्वामित्व नेपालले पाए पनि बन्द गर्नुपर्ने जोखिम रहन्छ। ठेक्का आह्वान एवं सम्झौता र सेफ्टीको काम गर्न ७÷८ महिना बढी लाग्ने हुँदा अब भौतिक मन्त्रालयले ठेक्का आह्वानको निष्कष निकाल्न ढिलाइ गर्न मिल्दैन।
नागढुंगा सुरुङमार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ। मुख्य सुरुङ मिटरबाहेक ‘इभ्यालुयसन टनेल’ २५ सय ५७ मिटर लामो छ। २०७६ कात्तिकबाट सुरुङमार्ग निर्माण सुरु गरेको हाजमा एन्डो कर्पोरेसनले आयोजना कार्यालयले ४२ महिनाभित्र सुरुङ निर्माण गर्ने सम्झौता थियो। तर, निर्माण सुरु भएको ६ महिना नपुग्दै विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणका कारण निर्माण कार्य प्रभावित भयो।
त्यसबाहेक २०७९ हिउँदमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले क्रसर उद्योग बन्द गराउँदा पनि निर्माण कार्य प्रभावित भएको थियो। साथै विभिन्न माग राख्दै स्थानीयले गर्ने अवरोध पनि आयोजना कार्यालयले झेल्नु परेको थियो। सुरुङ निर्माणको कुल लागत साढे २२ अर्ब रुपैयाँ हो। यसमध्ये साढे १६ अर्ब जापानको ऋण सहयोग र ६ अर्ब नेपालको लगानी छ।
सुरुङबाट यात्रा गर्ने सवारीबाट टोल (पैसा) उठाएर निर्माणको लागत उठाउने तयारी सरकारको छ। असोज दोस्रो साता परेको अविरल वर्षासँगै सुरुङको पश्चिमतर्फ झ्याप्ले खोलामा गएको बाढीले सवारी आवागमन अवरोध हुँदा एम्बुलेन्ससहितका केही सवारीलाई सुरुङबाट काठमाडौं प्रवेश गराइएको थियो। तर, त्यो आपतकालिन अवस्था भएकाले सुरुङ प्रयोग गरिए पनि अहिले सवारी सञ्चालन गर्न मिल्ने अवस्था नभएको भौतिक मन्त्रालयले जनाएको छ।