दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिका–१ लप्ची गाउँ टेक्दा लाग्न सक्छ, यो कुुनै छुट्टै प्रदेश वा देश हो भनेर। दोलखाको सदरमुकाम चरिकोटबाट तीन दिन लगायर पुुग्ने यो गाउँका नागरिकको दुःखका कथा कहालीलाग्दा छन्। इतिहास खोज्दै जाने हो भने बौद्ध धर्मगुरु मिलारेपाले यो गाउँमा पाइला टेकेको पाइन्छ। लप्चिमा मिलारेपा गुरुको पाइलासमेत देख्न सकिन्छ । बौद्ध धर्मावलम्बीको मात्रै आस्थाको केन्द्र नभएर विश्वका नागरिक निकै महँगो यात्रामा निस्किएर लप्ची पुुगेको र ध्यान गरेर बसेको देख्न सकिन्छ।
मिलारेपा केवल तिब्बतका बौद्धधर्म गुरु मात्रै थिएन, उनी ठूला तन्त्र–साधक पनि मानिन्थे।
धार्मिक मान्यता बोकेर र नेपालकै राज्यको नजरमा नपुगेको चीन सीमामा पर्ने दोलखाको अन्तिम भूभाग टेकेर गुरु मिलारेपाको ध्यानकेन्द्र लप्ची गाउँतर्फ लाग्ने र यहाँका नागरिकसँगका दुःखसुुख साट्ने उद्देश्यले लप्ची पुगियो। लप्ची गाउँ तीनैतिरबाट घेरिएको रहेछ, चिनियाँ भूभागले। नेपालभित्रको दोलखाको त्यो अन्तिम गाउँ रहेछ लप्ची।
इतिहासका जानकार र स्थानीयको भनाइअनुसार लप्ची ८१० वर्ष पुरानो लप्ची रेछेन शेर्पा दोर्जेले गुम्बा तथा ध्यानकेन्द्रको पुनर्निर्माण सम्पन्न गरेको मानिन्छ। यहाँ ११ सय वर्ष अघिदेखि तिब्बततिरबाट शेर्पा समुदाय बसेको अनुमान लगाउने गरिएको रहेछ। यो गुम्बाको पुननिर्माणपछि ८ दिनसम्म लगातार जेठ ९ गतेबाट सुुरु गरी १६ गतेसम्म पूजा लगाइएको रहेछ। पूजाका लागि हेलिकोप्टरबाटै पूजा सामग्री ढुवानी गरिएछ भने कतिपय बौद्धमार्गी विदेशी पाहुना हेलिकोप्टरबाटै लप्ची पुगेका थिए।
यहाँको इतिहास खोतली हेर्दा– प्रसिद्ध बौद्धगुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छे बस्न थालेका हुन्। लप्चीका केही खोजकर्ता भन्छन्–मानसिक शान्तिका लागि मिलारेपाले लप्ची गाउँका गुफामा वर्षौं–वर्षसम्म ध्यान गरे। ती गुफा अहिले पनि यहाँ छन्। मेलारेपा नै ध्यान बसेकैले लप्ची गाउँलाई विश्वको पवित्र स्थल मानिन्छ। यहाँ मेलारेपाको पाइला प्रस्टसँग देखिन्छ। यही पाइलालाई निकै महत्व दिएर पूजा गर्ने गरेको पनि पाउन सकिन्छ। बौद्ध धर्ममा तीन महत्वपूर्ण तीर्थस्थानमध्ये एक यही गाउँको लप्ची गुम्बा हो। लप्चीमा हाल पनि विभिन्न देशका लामा गुरुले गुफा–गुफामा बसेर ध्यान गरिरहेको देख्न सकिन्छ।
यो गाउँ ध्यान केन्द्रका हिसाबले विश्वमाझ जसरी परिचित छ, राज्यको आँखामा खासै नचिनिएको देखिन्छ। यहाँका नागरिक राम्रोसँग नेपाली भाषा बोल्न सक्दैनन्। यहाँ कुुनै नागरिक बिरामी भइहाले भने साधारण सिटामोल खाने, मेडिकल वा स्वास्थ्य संस्थासमेत छैन। हालसम्म यो गाउँमा न फोन छ न ईन्टरनेट। यहाँका नागरिकहरूले जिन्दगीका थुप्रैखाले दुःख छल्न अनेकौ उपाय लगाउँछन्। पढेलेखेका शिक्षित युुवायुुवती बच्चा जन्माउन काठमाडााैं जान्छन्। लेखपढ नभएकाहरू चौंरीगोठमै बच्चा जन्माउँछन्। यहाँका अधिकांश मानिस खोलाको पानीको भरमा बाँचिरहेका छन्। लप्ची गाउँमा बसोबासका हिसाबले आधा वर्षका लागि मात्रै हो। उनीहरू बर्खामा माथि लप्ची सर्छन् भने हिउँद अर्थात् जाडोयाममा तल लुुम्नाङ गाउँ झरेर जीवन कटाउने गर्छन्। यहाँका मानिसको मुख्य पेसा चौंरी तथा याकपालन हो भने कतिपयले घोडापालन पनि गरिरहेको पाउन सकिन्छ।
अचम्म के भने, यहाँका मानिसका घरमा कुनै पाहुना आउँदा प्रत्येकले सु–चिया, छ्याङ, अन्य पेयपदार्थ लिएर अतिथिको स्वागत, सत्कार गर्छन्। यहाँका बालबालिकाका लागि राज्यबाट कुनै विद्यालय खोलिएको छैन। सबै विद्यार्थी भेला गरेर गाउँकै एक जना पढेलेखेका व्यक्तिको जिम्मामा २० विद्यार्थी काठमाडौंको बौद्धमा पढ्छन्। गुुम्बा छेउमा पवित्र कार्यका लागि वृद्धाआश्रम पनि छ। घरमा छोराछोरी र बिहे नभएकालाई सोही आश्रममा ल्याएर पालनपोषणसमेत गरेको पाइयो।
यहाँका नागरिकले जति दुःखकष्ट बेहोरेका छन्, उनीहरू आफूलाई र आफ्नो गाउँलाई भर्जिन राख्न चाहन्छन्। लप्चीको बस्तीभित्र गाडी चल्ने सडक बन्नुपर्ने पक्षमा छैनन् लप्चीबासी। उनीहरू भन्छन्– यो गाउँ ध्यान गर्ने ठाउँ हो। लामाको ध्यानमा समस्या पैदा हुने भएकाले पनि यहाँ सडक आवश्यक छैन। तर, सडक ल्याउँदा ध्यान केन्द्र र गुम्बालाई अवरोध पार्न पाइन्न। हामीलाई सडक पनि आवश्यक छ तर त्यो खोलापारि मात्रै। उनीहरूका आँगनमा धेरैको ध्यान हाइड्रोपावर निर्माणमा गएकाले हाइड्रोपावर सञ्चालकसँग पनि गुनासो साँचेका छन्। भन्छन्–हामीलाई सोध्दै नसोधी मनपरी गरिरहेका छन्। सामान्य सल्लाह पनि गर्दैनन्। हामीलाई सीधासोझा देखेर हाइड्रोपावर लगानीकर्ताले सामान्य गुनासा र सुुझाव पनि सुन्न चाहन्नन्।
स्थानीय बुद्धिजीवी फुर्बाथार्के शेर्पा भन्छन्, ‘हाइड्रोपावरले अनावश्यक दुःख दियो। अहिले हाम्रो गाउँ जाने बाटोसम्म बिगारिदिएको छ। अहिले गुम्बासम्म पहिरोले जोखिम परेको छ। पहिरो र गुम्बालाई नै बेवास्ता गरेर अपर लप्ची हाइड्रोपावरले बाँध बनाउने भन्ने हल्लाले चिन्तित छन् लप्चीबासी। लप्चीबासी यहाँको ऐतिहासिक महत्त्व नब्रिगियोस् भन्नेमा सचेत छन्।’ उनीहरूलाई जीवनयापनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सीमा पास दिएर केही सहज भयो तर पारि तिब्बतमा बेचेको चाैंरीको पैसा चिनियाँ युुआन घोर्मुु साट्न समस्या छ। बोकेर नेपालतर्फ ल्याउँदा पनि राज्यले दुःख दिने गरेको उनीहरूको गुनासो छ।
हाइड्रोपावरको गाउँ
केही वर्षपछि लप्ची जाने बाटो पुुग्दै गर्दा यो हाइड्रोपावरको गाउँको रुपमा पनि परिणत हुने सम्भावना नजिक देखियो। यहाँ गुम्बा नजिकै ५२ मेगावाट अपरलप्ची हाइड्रोपावर निर्माण तयारी भएको बुझ्न सकिन्छ। त्यसैको तलतिर नासा हाइड्रोपावर १६० मेगावाट एमभी दुगड ग्रुपले निर्माणका लागि सडक बनाइरहेको छ। जलविद्युत् उत्पादनकै लागि एभी दुगड ग्रुपले १२ किलोमिटर नयाँ सडक ट्रयाक खोलेको देखिन्छ।
लप्ची तल नादिङमा ४२ मेगावाट क्षमताको डायनामिक हाइड्रोपावर पनि निर्माण चरणमा छ। त्यसैगरी सानिमा जुम खोला हाइड्रोपावर ५६ मेगावाट क्षमताको ठेकेदार छनोट गरी निर्माण सुरु गरेको देख्न सकिन्छ।
देशकै ठूलो ४५६ मेगावाटको स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि लप्ची गाउँ उक्लिने बाटैमा पर्छ। विकास देखेको तर राज्यले पनि नदेखेको गाउँ हो, लप्ची। यी हाइड्रोपावर भएको आभास भने खासै छैन लप्चीका स्थानीयलाई। उनीहरूको इच्छा छ त केवल राज्यले देखोस् र छिमेकी तिब्बत अर्थात् चीन सरकारले नेपाली हुन्, इज्जत गर्नुपर्छ भन्ने होस् भन्ने चाहन्छन्।
बिहेबारीमा समस्या
चीनले सीमामा कडाइ गरेपछि यहाँका युवायुवतीको बिहेबारीमै समस्या परेको छ। स्थानीय युवा लाक्पा शेर्पा भन्छन्, ‘लामाबगरमा हामीलाई चल्ने कुटुम्बरी छैनन्। चीनतर्फ कडाइ भयो। अहिले यहाँका करिब दर्जन युवायुवतीको बिहे भएन। पुर्खादेखि कुटुम्बरी चल्ने ठाउँमै बिहे रोकिएपछि कठिन भएको उनको भनाइ छ। तर, बिहे गरेकाहरूले पनि समस्या झेलिरहेका छन्। लप्चीका युवाहरूले तिब्बततर्फका केटी बिहे गरेर ल्याएको १४ देखि १६ वर्षसम्म पुुग्दा पनि राज्यले नागरिकता नदिँदा दुःखेसो पोख्छन्।
सीमामा हेलिकोप्टर उडान समस्या
सुुरक्षा दृष्टिकोणले हेलिकोप्टर उडाउन निकै कष्ट झेल्छन्, यहाँका नागरिक। लप्ची पुुग्न कठिन भएकाले कतिपय व्यक्ति वा संस्थाले सामान ढुवानी र आउजाउमा हेलिकोप्टर प्रयोग गर्न खोज्छन्। तर, हेलिकोप्टर उडाउन समस्या झेल्दै आएका छन्, लप्चीबासीले। विदेशी, नेपाली वा स्थानीय वा जोसुकैको सहयोगमा हेलिकोप्टर उडाउनुपर्याे भने पनि स्थानीय प्रशासनबाट एक जना प्रतिनिधि अनिवार्य चढाउनुपर्ने नियमले उनीहरूलाई निकै मर्का परेको बताउँछन्, लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रका सचिव एवं गुम्बाका लामा खेम्बु ङुटुप शेर्पा।
स्थानीयको भनाइअनुसार राज्यको प्रतिनिधि हुने भए यहाँका नागरिकले कतैबाट हेपेको महसुस गर्ने थिएनन्। यहाँ एउटा प्रहरी चौकी हुने हो भने पनि हेलिकोप्टर उडानमा समस्या हुने थिएन। राज्यको प्रतिनिधित्व हुने हो भने चिनियाँ पक्षको बोली व्यवहार पनि बुझ्न निकै सजिलो हुने थियो।
गासवासमा समस्या
यो गाउँमा एक बोरा चामल भरियामार्फत लगे ७ हजार र हेलिकोप्टरमा लगे ९ हजार पर्छ। यहाँका बासिन्दाका घरमा ढुवानीको पीरले पनि खासै चामल पाक्दैन। यहाँका नागरिक सकेसम्म थुक्पा, थेन्डुपलगायत परिकार आफैं घरेलु तयार गरेर आलुुमा मिसाएर खाने गर्छन् । उनीहरू तिब्बतबाट वा अर्थात् जौ किनेर ल्याएर घट्टमा पिसेर सातु पिठो बनाएरै खान्छन्। यहाँ नुन पनि झन्डै २ सय रुपैयाँ हाराहारी पर्न आउँछ। करिब ४८ घरधुरी भएको लप्ची गाउँमा बसोबास गर्ने १५ देखि २० घरधुरी मात्रै छन्। यहाँका नागरिकको आफ्नै भेषभूषा छ।
१२ वर्षे मेला
लप्ची गुम्बामा १२ वर्षमा एक पटक निकै ठूलो मेला लाग्ने गथ्र्यो। खासगरी चीनले आफ्ना नागरिकलाई नेपालतर्फ सहज रुपमा छोड्दा लप्ची मेला भर्न तिब्बतबाट धेरै नागरिक आउने गर्थे। तर, भूकम्प पछाडि चीनले लप्ची नाकाबाट प्रवेश गर्ने आफ्ना नागरिकलाई समेत कडाइ गरेसँगै तीन वर्षपछि अर्थात् भेडा वर्षमा लाग्ने मेलामा तिब्बततिरका नागरिक नआउनेमा चिन्ता गर्छन् लप्चीबासी।
१२ वर्षे मेलामा तिब्बती मात्रै नभएर नेपालका बौद्ध धर्मावलम्बीहरूको पनि निकै भीड लाग्ने गथ्र्यो। भेडा वर्ष (सन् २०१५) बिदा भएको थियो। अब अर्को भेडा वर्ष सन् २०२७ मा आउँछ। अर्थात् हरेक १२ वर्षमा एउटा जनावर घुमिरहन्छ। चिनियाँ वर्ष भनेर विश्वमा चिनिए पनि कहिलेकाहीँ यो ‘बाह्र ल्हो’लाई विश्वले नै मनाउँदै आएको छ । लप्चीमा भेडा वर्षमा भव्य मेला लाग्ने गरेको छ।