काठमाडौं। बागमती प्रदेशमा अवधिभित्र बाढीपहिरो, डुबान, आगलागीजस्ता विपद् घटनाबाट चालू आर्थिक वर्ष २०८१÷८२ को तीनमहिने अवधिमा उपत्यकाबाहेकका १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी असोज १०–१२ को वर्षापछिको बाढीपहिरो र डुबानमा परी १७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालू आव २०८१÷८२ को साउनदेखि असोजसम्म पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर ९ जनाको मृत्यु भएको छ।
यस्तै सोही अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। सोही अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ।
विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, ६ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।
कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।
बाढीपहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुंगे पुलमा क्षति पुग्दा विपद्बाट ३ अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको छ।
पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँ जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए।