काठमाडौं। यो वर्षको तिहारको भाइटीका आउँदो कात्तिक १८ मा परेको छ। यस वर्षको भाइटीका पर्व तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि आशीर्वचनसहित मीठामीठा खानेकुरा खुवाउने चलन छ।
विभागको तथ्यांकअनुसार असोजसम्म १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायत भाइमसलामा प्रयोग हुने ड्राइफ्रुट आयात भएको हो।
विभागका अनुसार १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ता र आयात भएको छ भने २६ करोड १ लाख ६८ हजार बराबरको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ।
यस्तै, १८ करोड ५९ लाख ५८ हजारको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख बराबरको २४० किलो कटुस, १ करोड ३० लाखको १ लाख २४ हजार १७७ किलो छोकडा नेपाल भित्रिइसकेको विभागको तथ्यांकले देखाएको छ।
तिहारमा प्रयोग हुने १० करोड ६१ लाख ६१ हजारको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ। किसमिस भाइमसलामा प्रयोग गरिन्छ भने ओखर दाजुभाइको दीर्घायु कामना गर्दै दिदीबहिनीले दैलोमा फुटाउने चलन छ। यसले दाजुभाइका शत्रु नास हुन्छन् भन्ने धार्मिक विश्वास छ।
तिहार दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध सुमधर बनाउने चाड मात्र नभएर पशुपक्षीलाई समेत पूजाआजा गरेर मनाइने पर्व पनि हो।
पाँच दिनसम्म मनाइने तिहारको अन्तिम दिन भाइटीका मनाइन्छ।
यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर विभिन्न परिकार खुवाउने चलन छ। यो दिन चामलको परिकार बनाएर खुवाउनु शुभ मानिन्छ। सेलरोटी, फिनी, अनरसा, खुर्मा रोटी, सिन्कामारी आदि परिकार बनाइने चलन छ । यी परिकार घरमै तयार गर्न सकिन्छ।