काठमाडौं। गत असोज १०–१२ को अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपतकालीन पुनःस्थापना प्रणाली इमर्जेन्सी रेस्टोरेसन सिस्टम इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १.१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताएका हुन्।
तामाकोसी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो। टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो।
टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको थियो। उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुन सक्छ।
खिम्ती–लामोसाँघु प्रसारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण लाइन हो। उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ।
लाइनमा क्षति पुगेपछि भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो। अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको बताइएको छ।
प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन ल्याएको हो।
इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए। स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको हो।