काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजना अगाडि बढाउन सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउन आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन्।
मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गर्नुभएको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए।
बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो। ‘ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउन आवश्यक पर्ने लगानी, पूर्वाधार, कानुनी रुपरेखासहित विषयलाई समन्वयनात्मक तवरले अगाडि बढाउनेबारे छलफल भएको छ’, वरिष्ठ ऊर्जाविज्ञ अधिकारीले भने।
बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ।
बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थविज्ञ अमित श्रेष्ठलगायत सहभागी थिए।