क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अमेरिकामा भइरहेको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागिता जनाएका छन्। कात्तिक ५ गते अमेरिका गएका अर्थमन्त्री पौडेलले विश्व बैंक, मुद्राकोष र एडिबीका पदाधिकारीसँग द्विपक्षीय तथा बहुपक्षीय भेट गरेर नेपालको आर्थिक गतिविधि र विकास निर्माणबारे जानकारी दिएका छन्। अर्थमन्त्री पौडेल कात्तिक दोस्रो साता स्वदेश फर्किने अर्थ मन्त्रालयले जनाएको छ।
सहकारी ठगी आरोपमा कात्तिक २ मा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ७ दिन म्याद थपेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले कात्तिक ८ गते लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो। लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ प्रहरीलाई अनुमति दिएको छ।
गत असार ३१ मा सत्ता सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारले १०० दिन पूरा गरेको छ। सरकार गठनको १०० दिनभित्र भएका कार्यप्रगति विवरण र उपलब्धि प्रधानमन्त्री ओलीले कात्तिक ७ गते सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा ओली आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको र सुशासन एवं विकासमा आस पलाउँदै गएको दाबी गरे।
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसँगै तीन मन्त्रीले शपथ लिएका छन्। कात्तिक ८ मा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्री क्रमशः जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, देवकरण कलवार वन तथा वातावरणमन्त्री र आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको रुपमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन्। नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुन्। लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको संख्या ११ पुगेको छ।
यो साता सेयर बजारमा ११८.२२ अंकको गिरावट आएको छ। साताको पाँच कारोबार दिनमा चार दिन घेर एक दिन बढ्दा ११८.२२ अंकले घटेर २६२७.१४ बिन्दुमा सीमित भएको छ। गत साता तीन कारोबार दिनमा तीन दिन बढ्दा ७७.१९ अंकले बढेर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७४५.३६ बिन्दुमा समेटिएको थियो। यो साता नेप्सेमा कुल २९ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता १५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
प्रहरीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर विवाह गर्दै गरेको अवस्थामा सुनसरीको वराहक्षेत्रबाट ३ चिनियाँसहित ८ जनालाई पक्राउ गरेको छ। धनकुटाको छथर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराइरहेका रहेका बेला कात्तिक ८ मा पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले बताएका हुन्। २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न/गराउन पाउने कानुनी व्यवस्था छ।
पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ। चितवनस्थित टेम्पल टाइगर र ग्रिन रिसोर्टका अध्यक्षसमेत रहेका स्व. मिश्रको कात्तिक ४ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनअघि डेंगु लागेर अस्पताल भर्ना भएका पर्यटनका ‘पायोनियर’ मिश्रलाई अकस्मात ब्रेनहेम्ब्रेज भएपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।
स्याउको राजधानी मानिने मुस्ताङमा अहिलेसम्मकै धेरै स्याउ फलेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङले कात्तिक ८ मा सार्वजनिक गरेको विवरणअनुसार स्याउ बेचेर मुस्ताङी किसानले ९२ करोड जिल्ला भित्र्याएका छन्। मुस्ताङमा यस वर्ष करिब सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले जानकारी दिए।
अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ। कात्तिक ५ मा बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा, विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेकाे हाे। मन्त्रिपरिषदबाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ।