काठमाडौं। पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायतका विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौता आदिका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।
अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन्। उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्पm लगानीकर्ताको ध्यानाकर्षण गराए।
भारतसँग भएको १० हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युत्मा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्तालाई उनले दिए।
नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे। संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घन्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरुलाई देखाए।
लगानी सहजीकरणका लागि महासंघले एफडिआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे। महासंघले एफडिआई हेल्पडेस्कमार्पmत सहजीकरण गरिरहेको छ।
नेपालमा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको जानकारी दिए। सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए।
अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागि हुने क्रममा वासिंगटनमा छन्। यसअघि उनले अन्तर्राष्ट्रिय वित्त निगमका उच्च अधिकारीसँग पनि भेटघाट गरेका थिए।