काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले सोधेको १५ बुँदे स्पष्टीकरण बुझाउन थप १५ दिने समय मागेका छन्। घिसिङले कात्तिक ७ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र पठाएर स्पष्टीकरण पठाउने म्याद १५ दिन थप्न माग गरेको मन्त्रालयले जानकारी दिएको हो।
ऊर्जा मन्त्रालयले असोज २२ मा पत्र पठाएर १५ बुँदामा प्राधिकरणसँग सम्बन्धित विभिन्न विवरण माग गरेको थियो। १५ दिनको समय दिएर पठाएको उक्त पत्रको जवाफ पनि १५ दिनभित्रै पठाउन मन्त्रालयले भनेको थियो।
घिसिङलाई सोधिएको स्पष्टीकरण बुझाउने म्याद कात्तिक ७ मै सकिएको छ। तर, कार्यकारी निर्देशक घिसिङले कात्तिक ७ गते जवाफ पठाउन नसकेको भन्दै १५ दिन थप समय मागेका हुन्।
‘मन्त्रालयले मागेको विवरण पठाउन विगत ४ वर्षको अभिलेख रुजु गर्नुपर्ने, काठमाडौं उपत्यकाबाहिरका कार्यालयबाट विवरण संकलन गर्नुपर्ने तथा मन्त्रालयले विवरण मागेलगत्तै दसैं बिदा परेकाले केही विवरण मात्रै संकलन भएको छ,’ घिसिङले पत्रमा भनेका छन्, ‘तिहार पर्वलाई दृष्टिगत गरेर १५ दिन समय थप गरिदिनुहोला।’
यस्तो छ ऊर्जा मन्त्रालयले प्राधिकरणसँग मागेको १५ बुँदे विवरण
१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु।
२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी)
३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरुसँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरुको विवरण।
४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण । साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण।
५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण।
६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरुबाट एयधभच भ्खबअगबतष्यल पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरुको विवरण।
७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ति–१ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरणरप्रतिवेदनहरु।
८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि)। साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था।
९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धि विवरण। ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण।
१०. डेडिकेटेड फिडररट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवं सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु।
११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नम्बर, खरिद मूल्य एवं हालको अवस्था सहित)
१२. हाल बोलपत्र आह्वानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु रसामाग्रीहरुको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकम सहित)।
१३. नेपाल विद्युत प्राधिकरणले आफैंले विभिन्न स्थानहरुमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवं सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण।
१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण।
१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरुको पद र योग्यता खुलेको विवरण।