काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको एनसेल फाउन्डेसनले स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धताअनुरुप सामाजिक विकासका काम गर्न आवेदन खुलाएको छ।
एनसेलको १९औं वार्षिकोत्सव अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजना कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थालाई अनुदानका लागि आवेदन दिन आमन्त्रण गरेको छ।
गत वर्ष १८औं वार्षिकोत्सव अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजना प्रदेश स्तरमा सञ्चालनमा छन्। यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायलाई सशक्त बनाउन समर्पित रहेको कम्पनीले जनाएको छ।
पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायत क्षेत्रमा परियोजना लागू गरिनेछन्।‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिनेछन् र छनोटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिनेछ।
पहलका लागि कुल योगदान १ करोड ९० लाखको हुनेछ। एनसेल फाउन्डेसनले गैरनाफामूलक स्थानीय संघसंस्थालाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौती तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेस गर्न आमन्त्रण गरेको हो।
यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्ने कम्पनीको दाबी छ। एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ।
‘फाउन्डेसनमा अर्थपूर्ण परियोजनामार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं। समुदाय स्तरमा काम गरिरहेका संघसंस्थालाई परियोजनाका लागि आवेदन दिन प्रोत्साहन गर्दछौं’, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, ‘नाइन्टिन फर नाइन्टिन पहलमार्फत झन्डै दुई दशकदेखि यो यात्रामा साथ दिने समुदायलाई लाभ हुने खाले सामाजिक परियोजना कार्यान्वयन गर्न प्रतिबद्ध छौं।’