काठमाडौं। असोज १०–१२ बाढीले सडक पूर्वाधार, जलविद्युत आयोजना र कृषि क्षेत्रमा क्षति पुगेको विषय चर्चामा रह्यो। तर, हिमाली एवं पहाडी क्षेत्रको यात्रालाई सहज बनाउँदै आएको झोलुङ्गे पुलको क्षतितर्फ भने सरकारको पनि उल्लेख्य ध्यान पुग्न सकेको छैन। झोलुङ्गे पुल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागको हो।
विभागका अनुसार देशभरीका ११ हजार बढी झोलुङ्गे पुलमध्ये ७८ बढी पुलमा असोजको बाढीले क्षति पुर्याएको छ। ७६ वटामा ३६ पुल पूर्ण रुपमा क्षति हुँदा ४२ पुलमा आंसिक क्षति पुगेको छ। लागतको हिसाबमा एक अर्ब बढीको क्षति भएको मन्त्रालयको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख रामेश्वर मरहठ्ठा बताउँछन्। उनका अनुसार एक अर्ब बढीको क्षति भए पनि मर्मतमा एक अर्ब ५० करोड बढी खर्च हुन्छ।
‘पहिला पुल बनाउँदा बजार महंगी थोरै, खोलाको दूरी कम हुन्थ्यो’ उनी भन्छन्, ‘अहिले जलवायु परिवर्तनले खोलामा बाढी जानेक्रम बढेको छ जसले गर्दा खोलाको सतह बढ्छ र पुल अग्लो बनाउनु पर्ने हुँदा क्षतिभन्दा लागत बढी हुन्छ।’
सुनकोसी क्षेत्रमा बढी असर
असोज १०–१२ मा परेको अविरल वर्षाले सुनकोसी नदि क्षेत्रका झोलुङ्गे पुलमा बढी क्षति पुगेको ब्रिज डिभिजन प्रमुख मरहठ्ठा बताउँछन्। क्षति पुगेका ७८ पुलमध्ये २६ वटा सुनकोसी नदि क्षेत्रकै रहेको उनको भनाइ छ।
त्यस्तै त्रिशुली नदि क्षेत्रमा १० वटा झोलुङ्गे पुलमा क्षति पुगेको उनले बताए। बाँकी पुल बागमती नदी र अन्य स–साना खोलामा रहेको मरहठ्ठाको भनाइ छ। बाढीले क्षति पुगेका झोलुङ्गे पुलहरु भर्खरै निर्माण भएकादेखि पुरान पनि रहेको उनको भनाइ छ।
क्यापिटल नेपालसँग प्रमुख मरहठ्ठा भन्छन्, ‘कहिले निर्माण भएको पुलभन्दा पनि कस्तो ठाउँमा थियो भन्ने महत्वपूर्ण कुरा हुन्छ, नयाँ–पुराना सबै पुलमा क्षति पुगेको छ।’ क्षति पुगेका पुलको विवरण संकलनको काम भइरहेकाले ७८ बाट अझै संख्या बढ्ने विभागले जनाएको छ।
कसरी हुन्छ बजेट व्यवस्थापन ?
स्थानीय पूर्वाधार विभागले झोलुङ्गे पुल मर्मत एवं नयाँ निर्माणका लागि सहरी विकास मन्त्रालयमा डेढ अर्ब बढी बजेट माग गरिसकेको जनाएको छ। तर, मन्त्रालयमा सूचना अधिकारी चन्द्र गुरुङ अन्य विभाग र निकायबाट क्षतिको विवरण संकलनको काम चलिरहेकाले तत्काल बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाउन नसकिएको बताउँछन्।
साथै मन्त्रालयको पूर्व तयारीको बजेटले बाढीले क्षति पुगेका आयोजना मर्मत गर्न सम्भाव नभएको पनि सूचना हधिकारी गुरुङले बताए। मन्त्रालय मातहतका क्षतिग्रस्त आयोजना मर्मत गर्न २ खर्ब ८९ करोड ३४ लाख बढी लाग्ने प्रारम्भिक अनुमान छ।
जसका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग्ने तयारी छ। ‘यस्तो घटना हुन्छ भनेर हामीले बजेट छुट्याएका थिएनौं त्यसैले अर्थ मन्त्रालयसँग नै बजेट माग्नु पर्छ तर, पहिला क्षतिको एकिन विवरण संकलन गर्नुपर्छ अहिले हामी त्यसमै व्यस्त छौं’ सूचना अधिकारी गुरुङले भने। यद्यपि उनले कहिलेसम्म थप बजेट माग हुन्छ भन्ने प्रष्ट पारेका छैनन्।
सरकारले कुल १४ हजारभदा बढी पुल निर्माण गर्ने लक्ष्य राखेको छ। जसका लागि पैदल यात्राको प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल निर्माण गर्ने महत्वकांक्षी लक्ष्य पनि राखिएको छ।