काठमाडौं। पछिल्लो समय मोबाइल फोनको व्यवसाय संकुचित बन्दै गएको गुनासो बढ्न थालेको छ। ठूलो मात्रामा कारोबार हुने मोबाइल फोन व्यवसाय संकुचित बन्दै गएपछि आयातकर्ता तथा वितरकहरुको गुनासो बढ्दै गएको हो।
खासगरी, सर्वाधिक मोबाइल प्रयोग गर्ने युवा जमातको ठूलो हिस्सा देशबाट बाहिरिएको स्थिति एकातर्फ छ भने आर्थिक मन्दीका कारण नागरिकको क्रयशक्ति क्षमता सुधार हुन नसकेको स्थिति अर्कोतर्फ छ।
यी कारणले गर्दा सर्वाधिक खरिदबिक्री हुने दसैं तिहार तथा चाडपर्वको समयमा पनि मोबाइल बजार सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन। फलस्वरुप, संकुचित व्यापारले मोबाइल आयातकर्ता तथा वितरकहरुलाई कोरोना महामारीको व्यापार अवस्थाको याद दिलाएको छ। कोरोना महामारीको समयमा नेपालको अन्य क्षेत्रको व्यापार ठप्पजस्तै भए पनि मोबाइल व्यापार भने उत्कर्षमा पुगेको थियो।
कोरोना कालमा अर्थात् आर्थिक वर्ष २०७७÷७८ मा पछिल्लो एक दशकै उच्च अर्थात् ७० लाख ३० हजार मोबाइल एकैवर्ष नेपाल भित्रिएका थिए। ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको उक्त संख्यामा मोबाइल फोन आयात हुँदा सरकारले ५ अर्ब ८४ करोड ९ लाख रुपैयाँ बढी राजस्व प्राप्त गरेको थियो।
जबकि, त्यसअघि अर्थात् आर्थिक वर्ष २०७६÷७७ मा भने नेपालमा १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँ बराबरको ४३ लाख ६५ हजार मोबाइल फोन नेपाल भित्रिएको थियो। उक्त आयातबाट सरकारले २ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो।
आर्थिक वर्ष २०७७÷७८ मा ७० लाख ३० हजार मोबाइल आयात भएको स्थितिबाट गत आर्थिक वर्ष २०८०÷८१ मा भने घटेर ३० अर्ब ९ करोड रुपैयाँ बराबरको ३९ लाख ९७ हजार मोबाइल नेपाल भित्रिएको देखिन्छ।
उक्त आयातबाट सरकारले ५ अर्ब ६० करोड ५७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो। गत आर्थिक वर्षमा ३९ लाख मोबाइल फोन भित्रिएकोमा २८ अर्ब ६६ करोडको १८ लाख ३९ हजार स्मार्टफोन थिए भने अन्य साधारण थिए।
नेपाल भित्रिएको मोबाइल फोनको तथ्यांकले हालको मोबाइल व्यापार संकुचित अवस्थामा रहेको देखाउँछ। कोरोना समयमा अनलाइन कक्षा सञ्चालनका लागि हरेक विद्यार्थीका लागि एक मोबाइल खरिद गरिएको थियो।
त्यसैले पनि सो समयको कारोबार उच्च थियो। यसैले पनि धेरै व्यवसायीले मोबाइलको कारोबार संकुचित स्थितिमा रहेको गुनासो गरिरहेका हुन्। मोबाइल फोन इम्पोटर्स एसोसिएसनका अध्यक्ष दिपक मल्होत्रा हालको मोबाइल फोन बजार अवस्था राम्रो नभएको बताउँछन्।
‘अहिलेको नेपालको मोबाइल व्यापार अवस्था राम्रो छैन। अवैध ढंगमा भित्र्याइएका र पैठारी गरी ल्याइएको मोबाइल विज्ञापन गरेर बिक्री भइरहेको छ,’ अध्यक्ष मल्होत्रा भन्छन्, ‘अहिले बजारमा ४० देखि ५० प्रतिशत मोबाइल अवैध ढंगमा आयात भएका छन्। यसले वैधानिक व्यापारीलाई असर पुराएको छ भने सरकारको राजस्व गुमेको छ।’
अध्यक्ष मल्होत्राका अनुसार चोरीपैठारी मोबाइलको व्यापारलाई नियन्त्रण गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा नआएका कारण पनि नेपाली बजारमा अवैध मोबाइल डिभाइसले कब्जा जमाएका छन्।
‘अवैध मोबाइल आयातले सरकारले ठूलो राजस्व गुमाएको छ भने ग्राहक पनि ठगिएका छन्,’ मल्होत्रा भन्छन्, ‘अवैध मोबाइलले हाम्रोमा सुरक्षा चुनौती पनि थपिएको छ।’ उनले वैधानिक तरिकाले भित्रिएका मोबाइल र खरिदकर्ताको सम्पूर्ण जानकारी हुने तर, अवैधानिक मोबाइलमा कुनै जानकारी नहुने हुनाले गलत क्रियाकलाप बढ्नसक्ने बताए।
यद्यपि, चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो तीन महिनामा भने १२ लाख ६६ हजार ९२६ थान मोबाइल फोन नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १० अर्ब ३६ करोड ९३ लाख रुपैयाँ बराबरको उक्त मोबाइल आयातबाट सरकारले १ अर्ब ९३ करोड ३६ लाख रुपैयाँ राजस्व प्राप्त गरेको गरेको छ। साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा १२ लाख ६६ हजार थान मोबाइल फोन नेपाल भित्रिएकोमा ६ लाख ५५ हजार ६३१ थान स्मार्टफोन र ६ लाख ११ हजार २९५ साधारण फोन छन्।
गत आर्थिक वर्ष २०८०÷८१ को पहिलो तीन महिनामा भने ९ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको १० लाख १५ हजार ३७७ थान मोबाइल नेपाल भित्रिएको थियो।
उक्त आयातबाट सरकारले १ अर्ब ८१ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा भएको उक्त आयातमा ९ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको ६ लाख ४२ हजार ४१५ थान भने स्मार्टफोन थियो। उक्त स्मार्टफोन आयातबाट मात्रै सरकारले १ अर्ब ७५ करोड ८९ लाख राजस्व प्राप्त गरेको थियो।
मोबाइल आयातको तथ्यांक यस्तो हुँदै गर्दा मोबाइल व्यवसायी भने व्यापार ३० देखि ४० प्रतिशतसम्म खुम्चिएको स्थितिमा रहेको बताइरहेका छन्। न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सका व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष गुरुदत्त शर्मा नेपालको समग्र मोबाइल बजार ३० देखि ४० प्रतिशत संकुचित अवस्थामा रहेको बताउँछन्।
‘यसअघिसँग तुलना गर्ने हो भने मोबाइलको व्यापार हाल मन्दीको स्थितिमा छ। कोरोनाको समयमा अनलाइन कक्षा सञ्चालन भएकाले मोबाइलको व्यापार निकै उत्कर्षमा थियो,’ अध्यक्ष शर्मा भन्छन्, ‘त्यसको दाँजोमा हालको व्यापार निकै कमजोर अवस्थामा छ। तुलनात्मकरुपमा आईफोनको व्यापार राम्रो भए पनि अन्यको भने घटेकै देखिन्छ।’ यद्यपि, अन्य व्यापारी क्षेत्रको तुलनामा भने मोबाइल व्यापारको स्थिति ठिकै मान्न सकिने शर्माको तर्क छ।