काठमाडौं। कात्तिक २३ देखि सुरु हुन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तत्कालका लागि रोक्न चार÷पाँचतारे होटल सञ्चालकले प्रस्ताव गरेका छन्। काठमाडौंमा उपलब्ध पाँच र चारतारे होटल सञ्चालकले सोल्टी होटलमा छलफल गर्दै पर्यटकीय सिजनमा विमानस्थल बन्द नगर्न सरकारलाई प्रस्ताव गरेका हुन्।
पाँच÷चार तारे होटल सञ्चालकसहित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र पर्यटन विभागका महानिर्देशकसहितको उपस्थितिमा भएको छलफलमा विमानस्थल स्तरोन्नतिको समय सार्न सुझाइएको हो। छलफलमा सहभागि मध्ये एक पाँचतारे होटल सञ्चालकका अनुसार पर्यटकीय सिजनमा विमानस्थल बन्द हुँदा भर्खरै तंग्रिन लागेको होटल व्यवसाय चौपट हुने भएकाले समय सार्न सुझाव दिइएको हो।
विमानस्थल स्तरोन्नति हुनु आफैंमा राम्रो भए पनि त्यसका लागि उपयुक्त समय नोभेम्बर नभई डिसेम्बर अन्तिमदेखि फेब्रुअरीभित्र सकाउन सरकारसँग आग्रह गरिएको ती सञ्चालकको भनाइ छ। विमानस्थल स्तरोन्नति हुँदा दैनिक १० घन्टा विमानस्थल बन्द हुने सूचना जारी भइसकेको छ।
पर्यटकीय सिजनको मुखमै विमानस्थल मर्मतको नाममा बन्द गरेर पर्यटन क्षेत्र ध्वस्त पार्ने काम हुन लागेको उनीहरुको गुनासो छ।
‘अफ सिजन’ अर्थात् डिसेम्बरदेखि फेब्रुअरीभित्र काम सकाउन सुझाव दिएको ती सञ्चालकले बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ देखि चैत १८ सम्म दैनिक १० घन्टा विमानस्थल बन्द गर्ने निर्णय गरिसकेको छ।
‘पर्यटकीय मुख्य सिजनमै विमानस्थल बन्द हुनु र विकल्प नदिइनु राम्रो सन्देश हैन’, छलफलमा सहभागी होटल व्यवसायीले भने, ‘६ महिना हैन, तीन महिनामै विमानस्थल स्तरोन्नति सकाउनुपर्छ।’
विमानस्थलको क्षमता विस्तारका लागि राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुनेछ। हाल बिहान ६ देखि राती २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन भइरहेको छ।
कोभिडपछि तंग्रिदै गएको पर्यटन क्षेत्रमा विमानस्थल निर्माणको नाममा फेरि पर्यटकलाई रोक्ने काम भइरहेको व्यवसायीको गुनासो छ। विदेशमा पर्यटक आकर्षण गर्न विभिन्न अफर ल्याएर आकर्षित गरिरहेका बेला नेपालले आउने पर्यटकलाई समेत रोक्न विमानस्थल बन्द गर्न लागेको ती व्यवसायीको आरोप छ। यसमा सरकार गम्भीर भएर पर्यटक आगमन कम हुने समय मर्मतको तालिका बनाउन सहजीकरण गर्न बोर्ड र विभागलाई उनीहरुको आग्रह छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले व्यवसायीका सुझाव पर्यटन मन्त्रालयलाई पठाइसकेको जानकारी दिए। पर्यटकीय सिजनमा विमानस्थल बन्द हुँदा नकारात्मक सन्देश जाने भए पनि आगामी दिनमा राम्रो हुने अपेक्षाको साथ मर्मत गर्नुपर्ने बाध्यता सरकारलाई रहेको उनले बताए।
विशेष भेलामा होटल सञ्चालकले सरकारले कतिपय निर्णय व्यवसायीलाई समय नदिई गर्दा कार्यान्वयनमा समस्या परिरहेको धारणा व्यक्त गरे।
केही दिनअघि खाद्य तथा आपूर्ति विभागले सूचना जारी गर्दै तारे होटलमा प्लास्टिक बोतल प्रयोगमा प्रतिबन्ध लगाएकोप्रति पनि व्यवसायी रुष्ट बनेका छन्। छलफलमा सहभागी एक व्यवसायीले भने, ‘केही समय दिएर निर्णय गरेको भए कार्यान्वयनमा सहज हुन्थ्यो। तत्कालका तत्कालै गर भनेपछि तनावमा छौं।’
एक साताअघि मौसम खराबीका कारण हजारौं पर्यटक रामेछापको मन्थली विमास्थलमा रोकिँदा सरकारले उद्धारका लागि तदारुकता नदेखाउँदा नकारात्मक सन्देश गएको उनीहरुको धारणा छ।
लुक्ला जान लागेका पर्यटक खराब बाटोमा जोखिम मोलेर मन्थली गए पनि लामो समयसम्म उडान नहुँदा समस्या परेको र यस्तो बेला काठमाडौं विमानस्थलबाटै उडान गर्ने वातावरण बनाइनुपर्ने सुझाव उनीहरुको छ।