काठमाडौं। सवारीधनी सुदीप लामिछानेले पानी परिरहेका बेला झाडीमा लगेर चार्ज गर्दा २०८० पुस ८ मा बूढानीलकण्ठमा एमजी ब्रान्डको गाडीमा आगलागी भयो।
आफन्तको घरमा गएका बेला गाडी चार्ज गर्न घरबाट मल्टिपल्गसहित झाडीमा गाडी चार्ज गर्दा उनको गाडी आगलागी भएको प्रारम्भिक अध्ययनबाट देखियो।
गत कात्तिक ५ मा सीतापाइलास्थित सेरेस ब्रान्डको विद्युतीय गाडीमा आगलागी भयो। सवारीधनीले लोकल सर्भिस सेन्टरमा गाडी बनाउन लगे पनि त्यहाँ नबनेपछि आधिकारिक सर्भिस सेन्टर पुर्याएका थिए। त्यहाँ लैजाँदा गाडी खराब भइसकेको र चार्ज गर्न खोज्दा आगलागी भएको थियो।
लोकल सर्भिस सेन्टरमा सर्भिस गराउँदै गाडीभित्रको तार सर्ट भइसकेको थियो। चार्ज गर्नेबित्तिकै गाडीमा आगो दन्कियो।
पछिल्ला यी दुई घटनाले गाडी सवारीधनीकै लापरबाहीका कारण अकल्पनीय क्षति भइरहेको छ। गाडीधनी यसमा किन दोषी देखिन्छन् भने उत्पादकले ठूलो रिसर्च गरेर संसारभरका लागि गाडी उत्पादन गरेका हुन्छन्।
आगलागी भएका दुवै गाडीको प्रारम्भिक परीक्षण गर्दा मुख्य ब्याट्री र मोटरमा केही समस्या नदेखिएको पनि कम्पनीले जनाएका छन्।विद्युतीय सवारीसाधन प्रयोग बढिरहेको समय घटेका यस्ता घटनाले ईभी खरिद गर्ने योजनामा रहेका व्यक्ति सचेत हुनुपर्ने अवस्था देखिन्छ।
नेपालमा ईभीप्रति बढ्दो ग्राहक चासोबीच भएका यस्ता घटनाले ईभी प्रयोगकर्ताले जथाभावी गर्न नहुने अवस्था छ। ईभीको वर्चस्व कायम हुँदै गएको स्थितिलाई लक्षित गर्दै अटो ब्रान्डले सुरक्षालाई प्राथमिकता दिनु आवश्यक देखिन्छ। यसै पनि विद्युतीय सवारीसाधनमा धेरै किसिमका सुरक्षा सुविधाले सुसज्जित हुने र सर्भिसिङ आधिकारिक सर्भिस नेटवर्कमा मात्रै हुने गर्छ।
ईभी गाडीमा यसरी नै आगलागी भएको बाहिरबाट हेरेर थाहा पाउन सकिँदैन। तर, विश्वभर ईभीमा भएका घटनालाई आधार मान्दा ईभी गाडी चार्ज गर्दा धेरै तात्तिएर आगलागी हुने गरेको पाइन्छ।
खराब चार्जरले चार्ज गर्दा पनि आगलागीको खतरा हुन्छ। ईभी गाडी धेरैजसो चार्जमा राखेको स्थानमा आगलागी भएका छन्। ईभीमा भएको ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) फल्ट भएर पनि आगलागी हुने गरेको छ। बीएमएस सिस्टम फल्ट हुँदा ब्याट्री तात्न गएर आगलागी हुने सम्भावना धेरै हुन्छ।
एउटा कारमा धेरै वटा ब्याट्री सेल हुन्छन्। एउटा सेल पड्केको अवस्थामा सबै ब्याट्रीमा त्यसको असर पर्न जान्छ। ईभीमा हाइभोल्टेज ब्याट्री भएका कारण ठोक्किएर प्वाल पर्दा आगलागी हुने सम्भावना उच्च हुन्छ। यी म्यानुफ्याक्टर डिफ्क्ट हुन्।
अहिले नेपालमा जे जसरी आगलागी भइरहेको छन्, त्यसमा ग्राहककै ठूलो कमजोरी देखिन्छ। सवारीसाधनमा आगलागी विभिन्न कारणले हुन सक्छन्। आगलागी हुँदैमा कम्पनीको लापरबाही भन्न मिल्दैन।
ईभी गाडीमा धेरै खाले समस्याको कारण आगो लाग्न सक्छ। ईभी गाडीमा मात्र आगलागी हुन्छ भन्ने होइन इन्धन गाडीमा पनि धेरै आगलागी हुने गर्दछ। इन्धन गाडीको पाइपमा लिकेज हुँदा इन्धन लिकेज भएर पनि आगो लागेका घटना छन्।
ईभी गाडीलाई सकेसम्म आफ्नो ब्रान्डको चार्जिङ प्वाइन्टमा मात्र चार्ज गर्नुपर्छ। चार्ज गर्दा गाडीको तापक्रम र कनेक्सनलाई ध्यान दिनुपर्छ। गाडीको इलेक्ट्रिकल सिस्टम, ब्याट्री र वायरिङको नियमित रूपमा चेक जाँच गर्नुपर्छ। गाडीमा कुनै पनि समस्या देखिए तत्काल मर्मत गर्नुपर्छ।
गाडीलाई तीव्र रुपमा कुदाउने र अचानक ब्रेक लगाउँनाले ब्याट्रीमा दबाव पार्न सक्छ, जसले पनि यस्तो घटनाको सम्भावना बढाउँदछ जुन कुरामा ईभी प्रयोगकर्ताले ध्यान दिनुपर्ने हुन्छ।