काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको १०० दिनभित्र भएका प्रगति विवरण सार्वजनिक गरेका छन्।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले १० लक्ष्यमध्ये ८ वटा पूरा हुँदा एउटा पूरा हुने अवस्था र एउटा लक्ष्य ५० प्रतिशत पूरा भएको जानकारी दिए।
उनले सयदिने उपलब्धिका रुपमा लक्ष्यअनुसार वर्षामा सडक अवरोध हटाउन सकेको, रेलमार्गमा ३ वटा पुल निर्माण गरिएको, प्रदेशबाट लाइसेन्स छाप्ने निर्णय कार्यान्वयनमा गएको बताए।
मन्त्री दाहालले विदेशस्थित पानीजहाजमा काम गर्ने नेपालीको तथ्यांक संकलनका लागि वेब एप्लिकेसन तयार गर्न परामर्शदाता छनोट गरिन लागेको जानकारी दिए।
इन्जिनियरको लाइसेन्सलाई अन्तर्राष्ट्रिय मान्यता दिन तयारी भइरहेको, इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको, सवारी चालक लाइसेन्स नागरिक एपबाट देखाउन मिल्ने र डिजिटल चिट काट्न मिल्ने गरी बनाइएकोलाई पनि मन्त्री दाहालले १०० दिने कार्यकालको उपलब्धिका रुपमा चित्रण गरेका छन्।
खुर्कोटमा बेलीब्रीज निर्माण, भारतबाट ४८.५ र ७० मिटर लम्बाइका बेलीब्रिजका लागि ३८ ट्रक सामग्री प्राप्त भएको र अझै १० ट्रक आउन बाँकी रहेको उनले बताए।
मन्त्री दाहालले १०–१२ को वर्षापछि आएको बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधार संरचना पुननिर्माण गर्न १५ अर्ब १६ करोड लाग्ने अनुमान गरिएको जानकारी दिए। बाढीपहिरोले साढे ६ अर्ब रुपैयाँको क्षति अनुमान गरिएको उनको भनाइ छ।