काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर रुपमा चाडपर्व मनाउन नागरिकसँग आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज सूचना जारी गर्दै चाडपर्वको समय शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरे।
काठमाडौं प्रशासनले कानुन विपरीत जुवातास, लंगुर बुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न÷नगराउन अनुरोध गरेको छ।
‘कानुनले निषेध गरेका गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ।
तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौंले सबैलाई आग्रह गरेको छ। सूचनामा उल्लिखित कुराको बर्खिलाप हुने गरी कोही–कसैले कुनै गतिविधि गरे प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ।