काठमाडौं। पोखरामा कार्यालय रहेको सूर्यदर्शन सहकारीबाट सर्वसाधारणको रकम अपचलन आरोपमा पक्राउ परेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक पूर्वडिआइजी छविलाल जोशी र निर्देशक रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको छ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रविलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका हुन्।
अदालतले यसअघि दिएको ६ दिने म्याद समाप्त भएपछि प्रहरीले थपका लागि अदालतमा दुवै जनालाई उपस्थित गराएको थियो। रविलाई सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ परेर पोखरा ल्याएको थियो।
जोशी सहकारी प्रकरण्मा गत असोज ६ मा पक्राउ परेका थिए। अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि र लीला पछाईमाथि थप छानबिन गर्न ७ दिन म्याद थपको आदेश दिएको छ।
असोज १५ मा पक्राउ परेकी उनले सूर्यदर्शनका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ बढी रकम आफ्नो बैंक खातामा राखेको प्रहरी छानबिनले देखाएको छ।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा औंल्याइएको छ। सहकारी रकम अपचलन अभियोगमा पक्राउ परका रविलाई ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ। सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज पुनः म्याद थपका लागि अदालत लगेको हो।
जीबी राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्। सूर्यदर्शनसहित ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ।
कास्कीका एसपी श्यामबाबु ओलीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताए। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबीसहित १८ जना फरार छन् भने केही पुर्पक्षका लागि थुनामा छन्।