काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका (ऊर्जा) सचिव सुरेश आचार्यले नेपालको थप बिजुली बेच्न भारतले आफ्नो भूमि प्रयोग गर्न दिएर सहजीकरण गरिदिन आग्रह गरेका छन्। भारतको जयपुरमा कात्तिक ५ देखि सञ्चालन भइरहेको ‘साउथ एसियन क्लियर इनर्जी फोरम २०२४’ (सेफ २०२४) लाई सम्बोधन गर्दै सचिव आचार्यले उक्त आग्रह गरेका हुन्। सम्मेलन आज समापन हुँदै छ।
गत वर्ष नेपाल–भारतबीच १० हजार मेगावाट र गत महिना नेपाल–भारत–बंगलादेशीबीच ४० मेगावाट विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौता भएको छ। उक्त सम्झौताले नेपालको हरित ऊर्जाको व्यापार अभिवृद्धि गर्दै मार्ग प्रशस्त गरेको पनि उनको भनाइ छ।
सन् २०३५ सम्म कार्यान्वयनमा ल्याउन प्रस्ताव गरेको विद्युत उत्पादन मार्गचित्र र कार्ययोजना चाडै नेपालको मन्त्रीपरिषद्बाट स्वीकृत गराउने सचिव आचार्यले बताएका छन्। उक्त मार्गचित्र स्वीकृत भएपछि २८ हजार ५०० मेगावाट क्षमताको पूर्ण स्वच्छ एवं हरित ऊर्जा उत्पादन गर्ने, खपत बढाउने, उद्योग स्थापना गर्ने, ई–मोबिलिटी प्रोत्साहनस्वरुप सम्भाव्य स्थानमा चार्जिङ स्टेसन गर्ने र बचत विद्युत् भारत, बंगलादेशसहितका अन्य देशमा निर्यात गर्ने योजना रहेको सचिव आचार्यले जानकारी दिए।
जलवायु परिवर्तनको नकरात्मक असरस्वरुप ऊर्जा सुरक्षा र दक्षता कायम राख्न ठूलो चुनौती रहेको उनको भनाइ छ। असोज दोस्रो साता नेपालमा परेको अविरल वर्षासँगै गएको बाढीबाट क्षति पुगेका आयोजाको शोधभर्ना गरी पुनःसञ्चालन गर्न तथा भविष्यमा यस्ता क्षतिबाट जोगिन प्रयास भइरहेको उनले जानकारी दिए।
कार्यक्रममा भुटान, श्रीलंका, माल्दिस, नेपाल र भारतका ऊर्जा सचिव सहभागी छन्। नेपालबाट नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, लगानी बोर्ड नेपाल, बूढीगण्डकी जलविद्युत विकास कम्पनीका प्रतिनिधि, लगानीकर्तासहित २६० सहभागी छन्।