काठमाडौं। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन्।
बुधबार विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनमा पनि संशोधन भएकाले लगानीका लागि आग्रह गरेको महासंघले जानकारी दिएको हो।
अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि महासंघले आवश्यक समन्वय गर्ने भरोसा दिलाए। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँगको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।
भेटमा विश्वमा कोरोना महामारी र रुस–युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे पनि कुराकानी भएको महासंघले बताएको छ।
अध्यक्ष ढकालले भेट अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए।
भेटमा आइएफसीका अधिकारी र महासंघ प्रतिनिधिको पनि सहभागिता थियो। त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयंकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरे।
भेटमा नेपालको पर्यटन, जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए।
अध्यक्ष ढकालले नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले नेपालमा लगानी सम्मेलनएपछि नयाँनयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएको सो अवसरमा जानकारी दिए।