काठमाडौं। सहकारी रकम दुरुपयोग अभियोगमा गत कात्तिक २ मा काठमाडौं पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि कास्की जिल्ला अदालत लगिएको छ। कात्तिक २ मा पक्राउ परेका रविलाई सडकमार्ग हुँदै शुक्रबार मध्यराती पोखरा लगिएको थियो।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई गोर्खा मिडियामा रहँदा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो। त्यसपछि कास्की जिल्ला अदालतले थप अनुसन्धानका लागि ६ दिने म्याद दिएको थियो।
सोही अभियोगमा असोज ६ मा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जोशीलाई रुपन्देहीको सुप्रिम सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा गत सोमबार प्रहरीले जिल्ला अदालत रुपन्देहीमा पेस गरेको थियो। उनीसँग बयान लिएपछि प्रहरीले पुनः पोखरा लगेको हो।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा औंल्याइएको छ। सहकारी रकम अपचलन अभियोगमा पक्राउ परका रविलाई ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ। सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज पुनः म्याद थपका लागि अदालत लगेको हो।
यसअघि सोमबार र मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले केरकार गर्दा रविले गोर्खा मिडियामा १ करोड ८० लाखको सेयर पारिश्रमिकबाट कट्टा हुने गरी लिएको साविती बयान दिएका थिए। उनले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता आरोप अस्वीकारेका थिए।
रविले बयान लिने सरकारी अधिकारीसँग भनेका थिए, ‘पोखरा महानगर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी म होइन। सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा थिइनँ।’
गितेन्द्रबाबु (जीबी) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा आफूलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको उनले बयान दिएका छन्। रवि गोर्खा मिडियाका निर्देशक थिए।
जीबी राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्। सुर्यदर्शनसहित ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ।कास्कीका एसपी श्यामबाबु ओलीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताए।