काठमाडौं । बैंकहरुले दिने सवारीसाधन कर्जा (अटोलोन) मा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ५ महिनामा अटोलोन ३ सय प्रतिशत भन्दा बढी घटेको छ ।
चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ३७ करोड ९० लाख बराबरको अटोलोन प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ९ अर्ब ६५ करोड ८६ लाख रुपैयाँको अटोलोन प्रवाह गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ अटोलोन कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले ऋण दिन कडाइ गरेको र कागजपत्र पेश गर्नुपर्ने प्रक्रियागत झन्झट बढाइदिएकोले अटोलोन घटेको नाडा अटोमोवाइल्स डिलर्स एसोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । बैंकहरुले कर्जा प्रवाह कम गरेका कारण गाडी बिक्रीमा कमी आएको उनको भनाई छ ।
५० प्रतिशत डाउन पेमेन्ट, करचुक्ता प्रमाणपत्र देखाउनु पर्नेलगायतका अव्यवहारिक नियमले अटो क्षेत्रको व्यवसायमा समस्या आएको उनको भनाई छ । बैंकबाट ऋण कडाइ भएसँगै अटो व्यवसायमा मन्दी छाएपछि नाडाले अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपाललाई भेटी समस्या समधानका लागि अनुरोध समेत गरिसकेको छ ।
अर्थमन्त्री खतिवडाले ५० प्रतिशत डाउन पेमेन्टमा लचक हुने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष दुलालले जानकारी दिए । उनले भने ‘अर्थमन्त्रीले केही दिनभित्र समस्या समाधान गर्ने बचन दिनु भएको छ । त्यसैलाई कुरिरहेका छौं । समस्या समधान भएमा अटो व्यवसायले गति लिने छ ।’
व्यापार घाटा चुलिएपछि सरकारले विलाशिताका बस्तुको आयातमा कडाई गर्दा सवारी साधनको व्यापारमा मन्दी आएको हो ।
पछिल्लो समय सवारी खरिदमा व्यक्तिगत आम्दानीदेखि अन्य विभिन्न आम्दानीको विवरण हेर्न थालेकाले पनि सवारीको व्यवसायमा मन्दी आएको छ । गाडी व्यवसायमा ६० प्रतिशत कमी आएको व्यवसायीले बताएका छन ।
सरकारले सवारी आयातबाट ठुलो परिणामा राजश्व पनि संकलन गर्ने गर्छ । सरकारले भ्याट, अन्तशुल्क, भन्सारलगायत गरी २४० प्रतिशतसम्म कर लिने गरेको छ । गाडी आयात कम भएपछि सरकारको राजश्व संकलनमा समेत असर परेको छ ।
याे पनि पढ्नुहाेस्
अर्थमन्त्री–नाडा पदाधिकारी भेट : ५० प्रतिशत डाउन पेमेन्टमा पुनरावलोकन गर्ने खतिवडाको बचन