काठमाडौं। लामो समयदेखि ग्राउण्डेड रहेको दुई एयरलाइन्स नियमित उडानमा फर्किने तयारी थालेको छ। आन्तरिक उडान गरिरहेको सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले नियमित उडानका लागि आवश्यक तयारी अगाडी बढाएको हो।
गत साउन ९ गते पोखरा उडानको क्रममा दुर्घटनामा परेपछि सौर्य एयरलाइन्सका जहाज ग्राण्डेड गरिएको थियो। दुर्घटनाका क्रममा एयरलाइन्सका १८ जना उच्च कर्मचारीहरुको निधन भएपछि जहाज उडान हुन सकेको छैन।
एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले तिहारपछिबाट नियमित उडानका लागि आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिए। एयरलाइन्समा रिक्त उच्च कर्मचारीहरु आपूर्तिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको बताउँदै तिहार अघि प्रक्रिया पूरा गरि मंसिर भित्रै उडान गर्ने गरी काम भैरहेको उनले बताए।
तीन वटा जहाज रहेको सौर्यमा १ वटा दुर्घटनामा परेको र अर्को इन्जिनमा समस्या आएपछि त्यतिकै थन्किएर बसेको छ। हाल तत्कालका लागि १ वटा जहाज मार्फत उडान गर्ने र तत्कालै नयाँ जहाज थप्ने गरी व्यवस्थापनले काम गरिरहेको उनले जानकारी दिए।
सौर्य एयरलाइन्समा भारतको कुवेर ग्रुपको समेत लगानी रहेको छ। नयाँ जहाज खरिदका लागि कुवेर ग्रुपसँग कुराकानी भैरहेकोले यहि वर्ष भित्रमा जहाज ल्याएर २ वटा मार्फत नियमित उडान गर्ने योजना बनाइरहेको उनको भनाइ छ।
यता नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने सौर्य एयरलाइन्समाथि लागेको उडान प्रतिबन्ध खुला नभइसकेको जानकारी दिए। ‘अहिलेको स्थीतिमा सौर्य एयरलाइन्स ग्राण्डेडनै रहेको छ,’ सूचना अधिकारी भुलले भने, ‘आवश्यक मापदण्ड पूरा गरेपछि अध्ययन गरिने र त्यसपछि मात्र उडानका लागि अनुमति दिने वा नदिने भन्ने निर्णय हुन्छ।’
कुनै पनि एयरलाइन्स ग्राउण्डेड हुनु उड्डयन क्षेत्रका लागि सुखद नभएकोले आवश्यक सुरक्षा मापदण्ड पुरा गरे उडानका लागि अनुमति दिन सकिने प्राधिकरणको भनाइ छ।
गुणको उडान अनिश्चित
पुराना जहाज बेचेर नयाँ खरिद गर्ने योजनाका साथ २०७९ फागुनदेखि ग्राउण्डेड रहेको गुण एयरलाइन्सको उडान अझै अनिश्चित भएको छ। २०८१ असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमतिपत्र (एओसी) नविकरण हुन सकेको छैन्।
खासगरी गुणले आफुसँग रहेको ५ वटा जेटस्ट्रीम जहाज बेच्ने योजनाका साथ जहाजको उडान बन्द गरेको थियो। तर, जहाज विक्रि हुन नसकेपछि पुनः जहाज सञ्चालनमा ल्याउने वा बेच्ने भन्ने निर्णयमै पुग्न नसकेको गुण एयर श्रोतको भनाइ छ। जहाज खरिदका लागि विभिन्न देशका व्यवसायीहरुसँग छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको जनाएको छ।
उडान सञ्चालन अनुमति पत्र नविकरण भएमा तत्कालका लागि २ वटा बिचक्राफ्ट मार्फत उडानमा फर्किने योजना गुणले बनाएको छ। ‘अहिले हामी उडान प्रक्रियाका लागि आवश्यक कामहरु अगाडी बढाइरहेका छौं,’ गुण एयरका एकाउन्टेबल म्यानेजर योगराज कडेलले भने, ‘यो वर्षभित्रै नियमित उडानमा फर्किने हाम्रो योजना छ।’