काठमाडौं। तीनमहिने अवधिमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरको ईभी भित्रिँदा २ अर्ब ३ करोड रुपैयाँ बराबरको डिजेल पेट्रोल गाडी नेपालमा आयात भएकाे तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ।
विभागको तथ्यांकअनुसार ६ अर्ब ११ करोड रुपैयाँ बराबरका ईभी र २ अर्ब ३ करोड रुपैयाँ बराबरको डिजेल पेट्रोल गाडी नेपाल भित्रिएको हुन्।
चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिना (साउनदेखि असोज)सम्म २५ सय १८ युनिट ईभी चारपांग्रे सवारीसाधन भित्रिएका छन्। तथ्यांकअनुसार उक्त ईभी गाडी आयातबाट सरकारले ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
त्यस्तै, तीनमहिने अवधिमा २ अर्ब ३ करोड रुपैयाँ बराबरको १४ सय ३५ युनिट चारपांग्रे डिजेल पेट्रोल गाडी नेपाल भित्रिएको छ। उक्त डिजेल पेट्रोल गाडी आयतबाट सरकारले ५ अर्ब ८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने ५ अर्ब १७ करोड रुपैयाँ बराबरको २१ सय ३५ युनिट ईभी गाडी नेपाल भित्रिएको थियो। उक्त आयतबाट सरकारले २ अर्ब २४ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको गाडीको संख्या ३ सय ८३ युनिटले बढी हो।
त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ९५ करोड रुपैयाँ बराबरको १६ सय ५ युनिट डिजेल पेट्रोल गाडी आयात भएको थियो। उक्त इन्धन गाडी आयातबाट सरकारले ५ अर्ब ११ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो। विगतको तुलनामा यस वर्ष डिजेल पेट्रोल गाडीको आयत भने घटेको तथ्यांकले देखाएको छ।
मोटरसाइकल आयतमा वृद्धि
वर्षैपिच्छे घटिरहेको दुईपांग्रे सवारीसाधन आयात विगतको तुलनामा बढेको छ। विगत वर्षमा घटिरहेको दुईपांग्रे सवारीसाधन आयात चालू आर्थिक वर्षको तीन महिनामा उल्लेख्य बढेको हो। हाल नेपाली बजारमा विभिन्न नयाँ ब्रान्डका दुईपांग्रे सवारीसाधन आइरहेका छन्।
नयाँ–नयाँ ब्रान्डको इन्ट्री भएका कारण दुईपांग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म) मा ७१ हजार १ सय युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन्।
यस अवधिमा ८ अर्ब १० करोड रुपैयाँ बराबरको ६८ हजार ५ सय ३२ युनिट इन्धन बाइक नेपाल भित्रिएका हुन्। भने २९ करोड ६० लाख रुपैयाँ बराबरको २५ सय ६८ युनिट विद्युतीय बाइक तथा स्कुटर भित्रिएका हुन्।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको ४३ हजार ४७९ युनिट बाइक तथा स्कुटर नेपाल भित्रिएको थियो। यस अवधिमा ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ४२ हजार १०८ युनिट इन्धन बाइक तथा स्कुटर नेपाल भित्रिएका थिए। १७ करोड रुपैयाँ बराबरको १३७१ युनिट ईभी भित्रिएको तथ्यांक विभागकाे छ।